राजनीति


अनेरास्ववियूले अब कसैसँग चन्दा नलिने

अनेरास्ववियूले अब कसैसँग चन्दा नलिने

नेपालखबर
साउन २, २०७६ बिहिबार १४:३८,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ।

अनेरास्ववियू केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए।

‘अब अनेरास्ववियुले संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ’, उनले भने, ‘कुनै मातहत कमिटी र नेता कार्यकर्ताले त्यस्तो आर्थिक सहयोग लिएको पाइएमा अनुशासनको कारवाहीको भागीदार बनाइनेछ।’ उनले सांस्कृतिक र रचनात्मक कार्यक्रम गर्दा मात्र आर्थिक सहयोग लिने बताए।

संयोजक महरले सङ्गठनका नेता तथा कार्यकताबाट ‘लेवी’ उठाई सङ्गठन सञ्चालन गरिने बताए। ‘सङ्गठन एक भएपछि ५० हजार सङ्गठनको कमिटीमा आबद्ध छौँ’ उनले भने, ‘कमिटी सदस्यबाट लेवी उठाउँछौँ।’

बैठकले विश्वविद्यालयको प्राध्यापकको नियुक्ति गर्न सबै विश्वविद्यालयको एक छाता सेवा आयोग बनाउन तथा करार र आंशिक प्राध्यापकको व्यवस्थापनको लागि नियमित सेवा आयोगको परीक्षा सञ्चालनको माग गरेको छ। साथै प्रतिस्पर्धाबाहेक अन्य प्रावधानबाट प्राध्यापक नियुक्ति नगर्न आग्रह गरेको छ।

यस्तै विभिन्न विश्वविद्यालयमा पदाधिकारीदेखि क्याम्पस प्रमुखको खुला प्रतिस्पर्धाको व्यवस्था गर्न माग गरिएको छ। यसैगरी संयोजक महरले त्रिविमा गोल्डमेडलको लागि अङ्क थप्ने काममा संलग्न जो कोहीलाई कारवाही गर्न माग गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले सरकार र अन्य सम्बद्ध निकायले तोकेको मापदण्ड अवज्ञा गर्दै कक्षा ११ र १२ मा आफूखुशी शुल्क बढाउने शिक्षालयलाई तत्काल कारवाहीको दायरामा ल्याउन पहल गर्ने निर्णय गरेको छ। छात्रवृत्ति प्रदान गरेको विवरण सम्बन्धित स्थानीय तह र विद्यालयले आफ्नो विद्यालयको सूचना पाटी र वेबसाइटमा पारदर्शी ढङ्गले राख्नुपर्ने र अनुगमनमा स्थानीय तहले विद्यार्थी सङ्गठनको प्रतिनिधि अनिवार्य गर्नुपर्ने, त्रिविले प्रवीणता प्रमाणपत्र तह ‘फेज आउट’ गर्दा विद्यार्थी सङ्गठनसँग गरिएको सम्झौता कार्यान्वयनमा लैजान दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।

साथै बाढीपहिरो, भूकम्प र हावाहुरीजस्ता प्राकृतिक प्रकोपमा परी अभिभावक गुमाएका विद्यार्थीलाई विद्यालय शिक्षामा उचित छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। बैठकले सबै स्थानीय तहमा शैक्षिक परामर्श केन्द्रको स्थापना गरी परामर्श प्रदान गर्न माग गरेको छ। एकतापछि केन्द्रीय कमिटीको बैठक बुधबार काठमाडौँमा भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad