अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले मंगलबार चीनले छिमेकी मुलुकसँग रबाफ देखाइरहेको र विवादित दक्षिण चीन सागरमा सैन्य शक्ति बढाएको बताए।
हाल बेलायत भ्रमणमा रहेका पोम्पिओले बेलायतका विदेशमन्त्री डोमिनिक राबसँग मंगलबार छलफल गरेका थिए। उक्त छलफलपछि पोम्पिओले अन्तर्राष्ट्रिय सीमाका सन्दर्भमा विश्वले मिलेर काम गर्न जरुरी रहेकोमा जोड दिएका थिए।
सबैले अन्तर्राष्ट्रिय सीमाको विषयमा अन्तर्राष्ट्रिय व्यवस्थाको पालना गर्नुपर्ने पोम्पिओको भनाइ छ। सो क्रममा उनले चीनले कोरोनाको सूचना लुकाउँदा कोरोनाको प्रकोप विश्वभर फैलिएको आरोप समेत लगाए।
आफ्नो हितको लागि चिनियाँ कम्युनिस्ट पार्टीले काम गर्नु लज्जास्पद विषय भएको भन्दै उनले चीनको आलोचना गरे।
चीनले विवादित दक्षिण चीन सागरमा दाबी गर्नु वैधानिक नभएको भन्दै पोम्पिओले चीनले आफ्ना छिमेकीलाई धम्क्याएको र दादागिरी देखाएको आरोप लगाए।
हाल चीन र अमेरिकाबीच कोरोना भाइरसको उत्पत्ती, हङकङको स्वतन्त्रता तथा ताइवानको विषयमा विवाद जारी छ।
चीन र भारतबीच सीमा विवाद जारी रहँदा हालै बेलायत र चीनबीच हङकङको स्वतन्त्रताको विषयलाई लिएर तिक्तता बढेको छ।
यसबीचमा अमेरिकाले भारतसँग मिलेर सैन्य अभ्यास गरेको छ भने बेलायतलाई चिनियाँ प्रविधि कम्पनीका सामग्री प्रयोग नगर्न प्रेरित गरिरहेको छ। एजेन्सी
Shares

प्रतिक्रिया