राजनीति


नेपाल पक्षसँग प्रचण्डको भनाइ : ओलीबाट महाधिवेशनको प्रस्ताव विषयान्तर गर्न ल्याइएको हुनसक्छ

नेपाल पक्षसँग प्रचण्डको भनाइ : ओलीबाट महाधिवेशनको प्रस्ताव विषयान्तर गर्न ल्याइएको हुनसक्छ

मणि दाहाल
साउन ४, २०७७ आइतबार ६:३६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले कुनै सहमति नगरेको पार्टीका नेताहरुलाई बताएका छन्।

शनिबारको बैठकमा दुई अध्यक्षबीच सहमति भएको चर्चा भएसँगै आइतबार बिहान छलफलका लागि खुमलटार पुगेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले वालुवाटारमा कुनै सहमति नभएको प्रष्ट्याएका हुन्।

‘छलफलका लागि महाधिवेशनको प्रस्ताव ल्याइएको हो, कुनै सहमति भएको छैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै सो बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने।

उनका अनुसार प्रचण्डले नै मंसिरमै महाधिवेशन हुने कुनै संभावना नभएको बताएका थिए।

‘मैले तपाईंहरुलाई हिजो (शनिबार) राम्रोसँग कुरा बुझाउन सकिन होला, तर मैले प्रधानमन्त्रीसँग कुनै किसिमको सहमति गरेको छैन,’ उनले आफ्नै निवासमा भेला भएका नेताहरुलाई बताएका थिए।

सो भेलामा वरिष्ठ नेतहरु नेपाल, खनाल, प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल, मात्रिका यादव, वर्षमान पुन, सुरेन्द्र पाण्डे, भीम रावल, गोकर्ण विष्ट, रघुजी पन्त, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने सहितका नेताहरु समेत भेला भएका थिए।

‘प्रचण्डले नै अर्का अध्यक्ष ओलीले महाधिवेशनको प्रस्ताव विषयान्तर गर्न ल्याएको हुनसक्ने बताउनुभयो,’ सहभागी एक नेताले भने।

प्रचण्डले दुई पार्टीबीच एकताकै काम बाँकी रहेको, पार्टी सदस्यताकै अन्तिम टुंगो नलागेको अवस्थामा कसरी तत्काल महाधिवेशन हुन सक्छ र भनी प्रतिप्रश्न गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .