प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधबारको भेटमा पनि पुरानै कुरा दोहोर्याएका छन्।
थप उनले पार्टीको महाधिवेशन सकेसम्म चाँडै गर्न पनि आग्रह गरेका छन्।
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागिरहेका प्रचण्ड र माधव नेपाल समूहलाई ओलीले बारम्बार पद त्याग नगर्ने बताउँदै आएका छन्।
बुधबार प्रचण्डसँग बालुवाटारमा करिब साढे दुई घण्टा एक्लाएक्लै भएको भेटमा पनि ओलीले त्यही पुरानै कुरा दोहोर्याएको नेकपा सचिवालयका एक सदस्यले बताए।
‘अहिले प्रधानमन्त्री र अध्यक्ष छोड्ने विषयमा कुरा गर्न म तयार छैन’, प्रचण्डसँग ओलीको भनाइ उधृत गर्दै सचिवालयका ती सदस्यले भने, ‘तपाईं प्रधानमन्त्री बन्ने हो भने चुनावसम्म पर्खनोस्, एकल अध्यक्ष बन्ने भए चाँडै महाधिवेशनमा जाउँ।’
उनले दुई अध्यक्षबीच कुनै सहमति नभएको र कुरा मिल्ने गरि परिस्थिति विकास पनि नभएको बताए।
बालुवाटारमा ओलीसँग भेटेर खुमलटार निवास फर्केका प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए।
अघिल्लो बिहीबार, असार २५ गते दुई अध्यक्षको एक्लाएक्लै भेट भनाभनमा टुंगिएपछि स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको थियो। साउन २ गते, शुक्रबार स्थायी समिति बैठक बस्नुअघि भोली बिहीबार फेरि ओली र प्रचण्डबीच भेटवार्ता तय गरिएको छ।
बिहीबार दुई अध्यक्षबीच केही न केही सहमति हुन सक्ने अड्कल र चर्चाबीच अध्यक्ष प्रचण्ड निकट सचिवालयका ती सदस्यले भने, ‘अहिलेसम्मको परिस्थिति हेर्दा भोली पनि सहमति हुँदैन।’
सहमति खोज्ने नाममा नेकपा स्थायी समिति बैठक बारम्बार स्थगित हुँदै आएको छ। सुरुमा स्थायी समिति बैठक माग गर्ने २० जना सदस्यहरूले शुक्रबारको बैठक नरोक्न माग गरेका छन् भने प्रमुख नेताहरू पनि अब बैठक रोक्न नहुने निष्कर्षमा पुगेका छन्।
अध्यक्ष प्रचण्डको ब्रिफिङ सुनेपछि प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने, ‘अब स्थायी समिति बस्नुपर्छ।’
बुधबार खुमलटार फर्केपछि प्रचण्डले आफु निकटका अन्य केही नेताहरूलाई पनि ओलीसँगको भेटमा केही परिणाम ननिस्केको तर भोली फेरि भेट हुने बताएका थिए।
‘फड्को मारेको छैन, रुपरंग केही फेरिएको छैन’, ओलीसँग बुधबारसम्म पटक पटक भएका भेटबारे प्रचण्डकै शब्द उधृत गर्दै उनी निकट एक नेताले भने।
स्थायी समितिका अर्का एक नेताले चाहिँ ओली केही नरम हुँदै गएको महशुस गरेका छन्।
‘समीक्षा गरेर कुनै हिसावले समझदारीमा पुग्नैपर्छ, बाटो हराएको हो भने फेरि समात्नुपर्छ भन्ने मान्यता ओलीमा आउन थालेको देखिन्छ’, ती नेताले भने, ‘अहिले सहमति नै भइसकेको त छैन तर हिजोको जस्तो अड्डी पनि देखिँदैन।’
अघिल्लो बिहीबार ओली र प्रचण्डबीच झोकाझोक नै परेपछि तिक्त अवस्थामा भेटघाट टुंगिएको थियो। ओलीसँग प्रचण्डको त्यो भेट संभवतः अहिलेसम्मकै तिक्त थियो।
‘तपाईं पहिला हात छोड्नुस् त्यसपछि म जवाफ दिन्छु’, भेटको अन्तमा ओलीले प्रचण्डलाई भनेका थिए।
लगत्तै प्रचण्डले जवाफ फर्काएका थिए, ‘तपाईंलाई त्यत्ति सजिलो हुन कहाँ दिउँला र!’
त्यसपछि ओली जुरुक्क उठेर अर्को कोठामा गएपछि प्रचण्ड बालुवाटारबाट निस्केका थिए।
शनिबार गृहजिल्ला चितवन पुगेर फर्केका प्रचण्ड र ओलीबीच मंगलबार र बुधबार लगातार भेट भएको हो।

प्रतिक्रिया