राजनीति


राम र अयोध्याको विषयमा प्रधानमन्त्री ओलीको दाबीप्रति भाजपाद्वारा निन्दा

 राम र अयोध्याको विषयमा प्रधानमन्त्री ओलीको दाबीप्रति भाजपाद्वारा निन्दा

नेपालखबर
असार ३०, २०७७ मंगलबार २:१४,

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको भनेर दिएको अभिव्यक्तिप्रति भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले निन्दा गरेको छ।

सोमबार भानु जयन्तीका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको दाबी गरेका थिए।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई थियो।

‘हामी अहिले पनि ठानिरहेका छौँ सीता भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन, अयोध्याकालाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो। भारतले अहिले खडा गरेको अयोध्या होइन,’ ओलीले भनेका थिए।

बिबिसीका अनुसार प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई भाजपाले ‘राजनीतिक विवाद उक्साउने र भारतलाई चोट पुर्याउने आश्चर्यजनक कदम’ भन्दै निन्दा गरेको छ।

भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन्। ‘भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्यससँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही’ शास्त्रीले भनेका छन्।

भारतीय समाचार संस्था आइएएनएसले ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर टिप्पणी गरेको छ।

नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको ओलीको अभिव्यक्तिलाई देशभित्रकै मानिसहरूले विश्वास नगरेको समाचारमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरेका थिए। त्यो समयमा कुनै सञ्चार सुविधा बिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो।

उनले भनेका छन्, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस्। थाहा हुन सम्भव थिएन। नजिकै पर्थ्यो, सजिलैसँग गए होलान तर त्यो इतिहास बहस गरी साध्य छैन।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो सृंखलाले निरन्तरता पाउन नसकेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad