राजनीति


‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ भन्दै ओलीको पक्षमा प्रदर्शन

‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ भन्दै ओलीको पक्षमा प्रदर्शन

नेपालखबर
असार २४, २०७७ बुधबार १२:१६,

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रजधानीका विभिन्न स्थानमा प्रदर्शन भएको छ। प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन्। 

ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो। सरकार आफैँले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिँदै, कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन्।

बुधबार उपत्यकाको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा लगायतका ठाउँमा प्रदर्शन भएको छ। अत्यावश्यक सेवा क्षेत्र खुला भएपनि लक डाउन पुरै खुलेको छैन। पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढेपनि सडकमा प्रदर्शनकारीहरुको भिड देख्न सकिन्छ।

प्रदर्शनमा सहभागीहरुले ‘पार्टी एकता जिन्दाबाद’, आइएम वीथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दाबाद’, ‘जनताको चाहाना, सरकार परिवर्तन गर्न पाईदैन’, ‘भारतीय हस्तक्षेत्र बन्द गर, सरकार ढाल्न पाईदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका प्लेकार्ड बोक्दै नारा लगाएका छन्।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ। आजका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विवाद समाधानका लागि निरन्तर वार्तामा बसिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .