राजनीति


‘नेकपा कता जान्छ, दुई दिनमा स्पष्ट हुन्छ’

‘नेकपा कता जान्छ, दुई दिनमा स्पष्ट हुन्छ’

सागर न्यौपाने
असार २२, २०७७ सोमबार १३:४९,

सत्तारुढ नेकपाका नेताहरुले पार्टी कुन दिशामा जाने भन्ने दुई दिनभित्र स्पष्ट हुने बताएका छन्।

गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा जुटेका थिए।

नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ गतेसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा लागेका हुन्। यही दुई दिनभित्र सहमति हुने वा नहुने टुंगो लाग्ने एक स्थायी समिति सदस्यले बताए।

‘दुई अध्यक्षले पार्टीमा उठेको मागका विषयमा बल्ल छलफल सुरु गर्नुभएको छ,’ ती नेताले भने, ‘भोलि फेरि छलफल गरेपछि सहमति हुनेभए त्यसको खाका आउला। तर, अहिले नै यसै भइहाल्छ भन्न सकिँदैन। जता जाने भएपनि त्यसको संकेत दुई दिनमा स्पष्ट हुन्छ।’

स्थायी समिति सदस्य सुवास नेम्वाङले सोमबार बालुवाटारमा भएको डेढ घण्टा लामो छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको बताए।

‘डेढ घण्टामा के के विषयमा छलफल भयो, दुई अध्यक्षले प्रष्ट भन्नुभएको छैन,’ नेम्वाङले भने, ‘तर, सकारात्मक दिशामा अघि बढिरहेको देखिन्छ।’

उनले सहमति नभएसम्म बैठक निरन्तर बसिरहने बताए।

‘सहमति नजुटेसम्म दुई अध्यक्ष निरन्तर बैठकमा बसिरहने भन्ने छ,’ नेम्वाङले थपे, ‘दुई अध्यक्षले नेताहरुलाई सहमति खोज्ने काम लगाउने भन्ने छ। उहाँहरुले कसकसलाई लगाउनुभएको छ, यो हिजैदेखि सुरु भएको छ।’

अर्का नेता देवेन्द्र पौडेलले दुई अध्यक्षबीचको छलफलले पार्टीलाई विभाजनबाट रोकेको बताए।

‘बहस, विवाद पार्टीमा देखिन्छन्। तर फुट्नुहुन्न। दुई अध्यक्षबीचमा पार्टीमा उठेकै विषयमा संवाद भएपछि एउटा गम्भीर दुर्घटना रोकिएको छ,’ पौडेलले नेपालखबरसँग भने, ‘बाँकी सहमति र समझदारीमा मिल्छ।’

दुई अध्यक्षबीचमा समझदारी कायम भए त्यसलाई स्थायी समितिले अनुमोदन गर्ने उनको भनाइ छ।

पार्टी फुट्ने स्थितिमा पुगेपछि दोस्रो तहका नेताहरुले दबाब बढाएर मिल्ने विकल्प खोज्न ओली–प्रचण्डलाई आग्रह गरेका थिए।

‘हामी सक्रिय छौं, पार्टी फुट्नु हुन्न, कार्यविभाजन पनि मिलाउनुपर्छ, दुई तिहाइको कम्युनिस्ट सरकार केही काम नगरी फुट्यो भने त्यसले राम्रो सन्देश जाँदैन। त्यसैले हामी सकभर मिलाउन सक्रिय छौँ,’ पौडेलले भने।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरु पनि छलफलमा सक्रिय छन्।

‘पार्टी फुटबाट जोगाउन हामी सबै नेताहरु लागेका छौं, निरन्तर छलफल गरी नेतृत्वको ध्यानाकर्षण गराइरहेका छौं,’ नेता वेदुराम भुसालले भने।

असार १० गतेदेखि बसेको स्थायी समिति बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने माग गरिएको थियो। त्यसपछि ओली बैठकमा सहभागी भएका छैनन्।

असार १८ गतेको बैठकमा ओली उपस्थित नै भएनन्, बरु पार्टी विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गराउने निर्णय गरेपछि प्रधानमन्त्री ओलीसँग नेताहरु झस्केका थिए।

आफूसँगको सहमति विपरीत स्थायी समितिको बैठक चलिरहेका बेला संसद् अधिवेशन अन्त्य गराएपछि ओलीले पार्टी फुटाउनै खोजेको निष्कर्ष निकाल्दै प्रचण्ड-नेपाल समूहले सक्रियता बढाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad