राजनीति


कालापानीमा सशस्त्र प्रहरी गस्ती जाँदा भारतीय सुरक्षाकर्मीको अवरोध, बीओपी थपिँदै

कालापानीमा सशस्त्र प्रहरी गस्ती जाँदा भारतीय सुरक्षाकर्मीको अवरोध, बीओपी थपिँदै

उजिर कार्की
जेठ ३२, २०७७ आइतबार १४:४४,

कालापानी क्षेत्रमा गस्तीमा नजान सशस्त्र प्रहरीलाई भारतीय सुरक्षाकर्मीहरूले दबाब दिएको खुलेको छ।

गत साता दार्चुलाको छाङरुस्थित सशस्त्रको सीमा सुरक्षा पोष्ट (बीओपी) बाट माथिल्लो कौवाभन्दा केही पर पुगेको सशस्त्र प्रहरी टोलीलाई ‘विवादित भूमिमा नआउनु’ भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेको गृह मन्त्रालयको उच्च स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कालापानी भन्दा २ किलोमिटर नेपालतर्फ आएको भारतीय सुरक्षाकर्मी र सशस्त्र प्रहरीबीच जम्काभेट भएको थियो। सशस्त्र प्रहरीको १५ जनाको टोली गस्तीमा त्यस क्षेत्र गएको थियो।

‘भारतीय सुरक्षाकर्मीले यस क्षेत्रमा तिमीहरु नआउ, हामी पनि यता आउँदैनौं भनेछन्’, ती अधिकारीले नेपालखबरसँग भने, ‘यस विषयमा हामी थप जानकारी लिँदैछौं।’

कालापानी क्षेत्रमा भारतले भारतीय सेना, सशस्त्र सीमा बल र इण्डो तिब्बतीयन बोर्डर पुलिस तैनाथ गरेको छ। सशस्त्र सीमा बलले नेपाली सशस्त्र प्रहरीको गस्ती टोलीलाई अवरोध गरेको हो।

भारतले नेपाली भूमि समेत मिचेर लिपुलेकसम्म पुग्ने सडक निर्माण गरी उद्घाटन गरेपछि गएको वैशाख ३१ गते छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको थियो। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेपछि त्यस क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती बढाइएको हो। सशस्त्र प्रहरीको त्यही गस्तीलाई भारतीय सुरक्षाकर्मीले अवरोध गर्न खोजेका हुन्।

नेपालले भने त्यस क्षेत्रमा थप तीन वटा बीओपी स्थापना गर्ने तयारी गरेको छ। दार्चुलाको लाली, जोल्जिवी र दुम्लिङमा असार दोस्रो साता बीओपी स्थापना गर्न सशस्त्र प्रहरीको प्रधान कार्यालयले तयारी गरिरहेको छ।

सशस्त्र प्रहरीले सोमबार चीनसँग जोडिएको हुम्लाको हिल्सामा पनि बीओपी स्थापना गर्ने भएको छ। १० जनाको टोली पैदल त्यसतर्फ प्रस्थान गरिसकेको छ। आवश्यक सामग्री र बन्दोबस्तीका सामान आइतबार हुम्लाको सिमकोट विमानस्थल लगिएको छ। थप सशस्त्रको टोली र हातहतियार सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट लैजाने तयारी भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad