ad ad

राजनीति


कोरोना संकट सामना गर्न अमेरिकाद्वारा नेपाललाई ६६ करोड सहयाेग घाेषणा

कोरोना संकट सामना गर्न अमेरिकाद्वारा नेपाललाई ६६ करोड सहयाेग घाेषणा

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ६:३८,

अमेरिकाले नेपालमा कोरोना संक्रमण सामना गर्नका लागि ५५ लाख अमेरिकी डलर (६६ करोड रुपैयाँ) को नयाँ आर्थिक सहयोग घोषणा गरेको छ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसइआईडी) मार्फत नेपालमा कोभिड–१९ सङ्क्रमणका सहायक प्रभावहरूको न्यूनीकरणका निम्ति सो सहयोग घोषणा गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

दूतावासका अनुसार यससँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको जम्मा कोभिड–१९ सहायता ७३ लाख डलर पुगेको छ।

‘यस सहायतामार्फत युएसएआईडीले नेपालमा यस सङ्कटका सहायक प्रभावहरूलाई सम्बोधन गर्नका निम्ति नेपाल सरकारसँग सहकार्य गर्नेछ। विद्यमान् साझेदारीका जगमा थप कार्य गर्दै अति प्रभावित पालिकाहरूभित्रका अति जरुरी आवश्यकतालाई सम्बोधन गर्नका लागि खास गरी उक्त सहायता रकमले साना नेपाली व्यवसायहरूको आर्थिक पुनरोत्थानका निम्ति अत्यावश्यक वित्त परिचालन गर्नेछ,’ दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, निजी क्षेत्रको लगानीबाट लाभ लिँदै उक्त सहायताले जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड–१९ का आर्थिक–सामाजिक प्रभावसम्बन्धी मूल्याङ्कन, योजना तथा प्रतिकार्यसम्बन्धी कार्यमा सघाउनेछ।’

युएसएआईडीले स्थानीय स्तरीय जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्वतयारीका निम्ति सहयोगका लागि समेत स्वास्थ्य सहायता प्रदान गरेको उसले जनाएको छ।

यूएसएआईडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गर्दै अमेरिकी राजदूत र्‍यान्डी बेरीले ‘सङ्कटको यस्तो घडी नै कुनै पनि साझेदारीको सच्चा परीक्षा हो र यस कठिन घडीमा र त्यसपछिको समयमा समेत हामी अझै उत्थानशील, स्वस्थ, समृद्ध र आत्मनिर्भर नेपालको निर्माणप्रति प्रतिबद्ध’ रहेको बताएका छन्।

नेपाल सरकारसँग ७० वर्षभन्दा लामो समयदेखि बलियो तथा सहकार्यमूलक साझेदारी गर्दै आइरहेको अमेरिकाले नेपालमा कृषि, स्वास्थ्य, शिक्षा तथा अन्य आर्थिक–सामाजिक क्षेत्रको विकासका सहयोगार्थ १ अर्ब ५० करोड डलरभन्दा बढीको सहायता उपलब्ध गराएको दूतावासले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .