नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगन थापाका पछिल्ला अभिव्यक्तिमा चित्त दुखाउँदा दुई पार्टीबिच प्रदेशमा सत्ता सहकार्य सम्भव नभएको नेताहरूले बताएका छन्।
असार ३० मा कांग्रेस सभापति थापा र प्रचण्डबिच भएको भेटवार्तामा प्रदेशमा मिलेर जाने सैद्धान्तिक सहमति भएको थियो। असार ३० को मध्यान्हमा कांग्रेसको पदाधिकारी बैठकबाट एमालेसँग प्रदेशमा सत्ता सहकार्य भंग गर्ने निष्कर्ष निकालेका थापा नेकपासँग सत्ता सहकार्यका लागि प्रचण्डसँग छलफलमा बसेका थिए।
सो छलफल सकारात्मक भएको सभापति थापाले पदाधिकारी तहमा ब्रिफिङ पनि गरे। त्यसमा कांग्रेसका पदाधिकारीले आशंका पनि जनाएका थिए। सभापति थापाले प्रचण्डले मिलेर जाने वचन दिएको भन्दै आशंका नगर्न भने। तर, असार ३१ मा श्रीलंका गएका प्रचण्डको मन फर्किंदा फेरिएको कांग्रेस नेताहरू बताउँछन्।
‘श्रीलंका जानुभन्दा अगाडि हामीसँग सहकार्य गर्न उत्साहित हुनुहुन्थ्यो। श्रीलंकाबाट फर्किएपछि उहाँको मन किन फेरियो थाहा छैन,’ कांग्रेस सहमहामन्त्री उदयशमशेर रानाले भने, ‘तर, हामीलाई कुनै दुःखमनाउ छैन। सत्ता सहकार्य नभए पनि अन्य विषयमा सहकार्य गर्न हामी तयार नै छौँ।’
साउन ३ गते फर्किएका प्रचण्डले सभापति थापाका पछिल्ला अभिव्यक्तिले सहकार्य गर्न कठिन भएको बताएका थिए।
खासगरी पछिल्ला १० वर्ष मुलुकका लागि काला दिन भएको थापाको भनाइप्रति प्रचण्डको चित्तदुखाइ थियो। कांग्रेस सभापति गगन थापाले २०७२ देखि २०८२ सालसम्मको दशक कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका थिए।
‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली कांग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अँध्यारा वर्षहरू भए। ती काला दिनहरू भए। जसभित्र केवल सत्ता, सत्ता, सत्ता। शक्ति, शक्ति, शक्ति। त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो,’ उनको भनाइ थियो।
यो १० वर्षमा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डले आलोपालो सत्ता चलाएका थिए।
आफूहरूको शासनकालबारे थापा निन्दामा उत्रिएपछि सहकार्य गर्न कठिन भएको प्रचण्डले नेकपाभित्र पनि ब्रिफिङ गरेको नेताहरू बताउँछन्।
‘सरकार सञ्चालन गर्दा कमी–कमजोरी भयो भनेर हामीले पनि आत्मालोचना गरिरहेका छौँ। गगनजी आत्मनिन्दा गर्न थाल्नुभयो,’ प्रचण्डनिकट नेकपाका एक नेताले भने, ‘उहाँको अभिव्यक्तिले पुराना राजनीतिक शक्तिको छवि क्षयीकरण मात्रै भइरहेको छ। उहाँले यस्तो किन गरिराख्नुभएको छ, थाहा छैन। यस्तो बोलेर कसलाई स्थापित गर्न खोजिराख्नु भएको छ भन्ने मेरो मनमा प्रश्न उठेको छ।’
कांग्रेस सभापति थापाले पछिल्ला १० वर्षका उपलब्धिभन्दा खराबीलाई स्थापित गराउन खोजेको प्रचण्डको बुझाइ छ।
साउन पहिलो साता सभापति थापा र प्रचण्डबिच भएको छलफल सौहार्द्रपूर्ण नरहेको कांग्रेसकै नेताहरू बताउँछन्।
‘श्रीलंकाबाट फर्किएपछि उहाँले प्राविधिक कुरा गर्न थाल्नुभयो। तपाईंले यस्तो बोल्नुभयो, उस्तो बोल्नुभयो भन्न थाल्नुभयो,’ सभापति थापाको भनाइ उधृत गर्दै कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई भने, ‘मेरा पछिल्ला अभिव्यक्तिमाथि उहाँ प्रश्न उठाउन थाल्नुभयो। त्यसपछि धेरै कुरा गर्न मन लागेन।’
कांग्रेस सहमहामन्त्री उदय शमशेर राणाका अनुसार श्रीलंका जानुअघि कांग्रेससँग प्रदेशमा सत्ता सहकार्य गर्न प्रचण्ड उत्साहित थिए। सभापति थापासँगको भेटमा सत्ता सहकार्यका लागि नेकपा तयार रहेको भन्दै सहसंयोजक माधव नेपालसँग थप कुराकानी गर्न भनेका थिए। नेताहरूका अनुसार कांग्रेसले अहिले एमालेले नेतृत्व गरेको प्रदेशमा सरकारको नेतृत्व गर्ने र कांग्रेसले नेतृत्व गरेका बागमती, गण्डकी र सुदूरपश्चिममा नेकपा नेतृत्व लिनेसम्म छलफल भएको थियो।
माधव नेपाल पनि एमालेभन्दा कांग्रेससँग प्रदेशमा सत्ता सहकार्य गर्ने पक्षमा देखिन्थे। अन्तिममा प्रचण्ड गगनको बोलीलाई कारण देखाएर ओलीसँग मिल्न पुगेको नेताहरू भनाइ छ। कांग्रेस सभापति थापासँग सहकार्यका लागि तयार नभएका नेकपा संयोजक प्रचण्डले साउन ९ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन बुँदे सहमति गरेका छन्।
जसमा कोसी, बागमती र लुम्बिनीको नेतृत्व एमालेले गर्ने र नेकपाले कर्णाली र सुदूरपश्चिम नेतृत्व गर्ने सहमति भएको छ। सो अनुसार कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भइसकेका छन्। मधेस र गण्डकी प्रदेशमा अन्य दलसँग छलफल गर्ने उनीहरूको सहमतिमा उल्लेख छ।
एमाले नेतृत्वका कर्णाली र लुम्बिनीबाट कांग्रेस बाहिरिएको छ भने कांग्रेस नेतृत्वको सुदूरपश्चिम र बागमतीबाट एमाले पनि बाहिरिएको छ। कर्णालीमा नेकपा नेतृत्वमा बन्ने सरकारलाई एमालेको समर्थन छ भने बागमतीमा नयाँ सरकार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी र हाम्रो नेपाली पार्टी निर्णायक छन्। एमाले–नेकपाले गठबन्धन राप्रपा र हाम्रो नेपाली पार्टीलाई विश्वासमा लिन नसक्दा कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार ढलेको छैन। सुदूरपश्चिममा नेकपाको नेतृत्वमा नयाँ सरकार बन्दा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ।
अहिलेसम्म मधेसमा कांग्रेस नेतृत्वकै सरकार कायम राख्ने देखिएको छ भने गण्डकीमा कांग्रेस नेतृत्वकै सरकार सुरक्षित छ। २०८१ असार १७ मा केन्द्रदेखि सातै प्रदेशमा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सत्ता सहकार्यको सहमति नवीकरणको प्रयास असफल हुँदा प्रदेशमा पनि कांग्रेस विपक्षी कित्तामा पुग्ने देखिएको छ।
Shares

प्रतिक्रिया