कारोबार


उद्योगीलाई साक्षी राखेर अर्थमन्त्रीले खुलाए प्रधानमन्त्रीसँगको सम्बन्ध- क्लोज कोअर्डिनेसनमा छौँ

उद्योगीलाई साक्षी राखेर अर्थमन्त्रीले खुलाए प्रधानमन्त्रीसँगको सम्बन्ध- क्लोज कोअर्डिनेसनमा छौँ

उद्धव थापा
साउन १२, २०८३ मंगलबार २१:४६, काठमाडौँ

अर्थमन्त्री स्वर्णिम वाग्लेले अग्रणी उद्योगीहरूलाई बोलाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग आफ्नो सम्बन्ध सुमधुर रहेको प्रस्टीकरण दिएका छन्।

पछिल्ला दिनमा अर्थमन्त्री वाग्ले र प्रधानमन्त्रीबीच सम्बन्ध बिग्रिएको सार्वजनिक चर्चा भइरहेको थियो। अझ प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग धमाधम बैठक गरिरहेको तर ती बैठकमा अर्थमन्त्री अनुपस्थित भएपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको चर्चा भइरहेको थियो।

त्यति मात्रै होइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता लिइएको घोषणा प्रधानमन्त्री शाहले आफ्नो फेसबुक पेजबाट गरेपछि अर्थमन्त्री र प्रधानमन्त्रीबीचको सम्बन्धमा दरार आएको विश्लेषण हुने गरेको थियो।

तर, मंगलबार उद्योगीहरूलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री वाग्लेले आफू र प्रधानमन्त्रीबीचको सम्बन्धको बारेमा लामो चर्चा गरेका छन्। 

उद्योगी व्यवसायीहरूले असार २४ गते यता निरन्तर प्रधानमन्त्रीलाई भेटिइरहँदा आफू उपस्थित नहुनाको कारण पनि वाग्लेले खुलाएका छन्।

निजी क्षेत्रका प्रतिनिधि र प्रधानमन्त्रीबीचको संवाद ‘नो-फिल्टर’ होस् भनेर प्रधानमन्त्रीसँगको सल्लाहमै आफू उपस्थित नभएको वाग्लेको दाबी छ।

वाग्लेले भनेका थिए, ‘प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ। मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ। बजारमा एउटा मसला भएको छ अर्थमन्त्री देखिएन भन्ने। यो सोझै सम्माननीयज्यूसँग यहाँहरूको प्रत्यक्ष ‘नो-फिल्टर, नो-इन्टरमिडियसन होस् भन्ने व्यवसायी र प्रधानमन्त्रीज्यूको चाहना पनि छ। हामीले यो काम सल्लाहमा नै गरेका हौँ।’

उद्योगीहरूलाई विश्वस्त बनाउने प्रयास गर्दै वाग्लेले अर्थतन्त्रको विषयमा प्रधानमन्त्री गम्भीर रहेको बताएका थिए।

वाग्लेले भनेका थिए, ‘म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रका सवालमा अत्यन्त गम्भीर हुनुहुन्छ। मुख्यमुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायत मन्त्रिपरिषद्का सहकर्मीहरूसँग फलोअप गरिरहनुभएको छ।’

अर्थमन्त्रीसँगको छलफलम सहभागी भएका नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठले पनि अर्थमन्त्री र प्रधानमन्त्रीको सम्बन्ध सुमधुर रहेको अर्थमन्त्रीले सुनाएको बताए।

अर्थमन्त्रीलाई उदृत गर्दै श्रेष्ठले भने, ‘प्रधानमन्त्रीसँग कुनै समस्या छैन। आज पनि म ५५ मिनेट प्रधानमन्त्रीसँगै कुराकानी गरेर आएको हुँ। उहाँले हरेक विषयमा सोधिरहनुभएको हुन्छ। हामीबीच निरन्तर छलफल भइरहेको छ।’

उद्योगी व्यवसायीहरूले असार २४ गते प्रधानमन्त्रीसँग गरेको संवादको मुख्य विषयमा अर्थमन्त्रालयमा आइसकेको र त्यसलाई कार्यान्वयनका लागि छलफल गरिरहेको अर्थमन्त्रीले उद्योगीहरूलाई जानकारी गराएका थिए।

प्रधानमन्त्रीसँगको सम्बन्धबारे थप खुलाउँदै अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘व्यवसायी तथा उद्यमीले उठाएका प्रधान मुद्दाहरू जहिले पनि उहाँले सिधै हामीलाई फोन गरेर ‘यो यस्तो रहेछ नि, फलानो वस्तुको दर यस्तो रहेछ नि’ भनेर डिटेलमा बुझ्नुहुन्छ। हाम्रो निरन्तर संवाद भइरहेको हुन्छ। प्रत्येक क्याबिनेटपछि प्रधानमन्त्रीज्यूसँग म बस्छु। तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुठहरू फैलाइन्छ।’

नेपालको इतिहासमा धेरै लामो समयपछि प्रधानमन्त्रीले आर्थिक मुद्दाहरुमा क्लोज कोअर्डिनेसनमा रहेर चासो राखेको अर्थमन्त्री वाग्लेको दाबी छ।

उनले उद्योगीहरूसँग भने, ‘आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समय पछि हो। अर्थमन्त्री-प्रधानमन्त्रीको क्लोज्ड कोअर्डिनेसन डिस्कसन भइरहेका छन्। बजारका हल्लाहरूको पछाडि नलागिदिनुहोला।’

उद्योगीहरूसँगको संवादमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले गरेको लगानी पूर्णरूपमा सुरक्षित रहने र पुन:लगानी गर्न सक्ने अनुकूल वातावरण निर्माण गर्ने आश्वासन दिएका छन्।

अर्थमन्त्रीले उद्योगीहरूसँग भनेका छन्, ‘उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहनेछ, किनकि निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो भन्नेमा हामी पूर्णरूपमा स्पष्ट छौँ।’

उद्योगीहरूलाई छलफलमा बोलाउँदा अर्थ मन्त्रालयले आफ्ना समस्या तथा गुनासो लिखितरूपमा ल्याउन भनेको थियो।

सोहीअनुसार सबै उद्योगीहरूले लिखितरूपमा समस्या अर्थमन्त्रीलाई बुझाएका छन्।

उद्योग समितिका सभापति श्रेष्ठले भने, ‘उद्योगीहरूले सग्रम विषयमा आफ्ना सल्लाह राख्नुभएको छ। आफ्नो क्षेत्रको समस्या लिखितरूपमा जानकारी गराउनुभएको छ। अब सरकारले त्यसलाई कसरी सम्बोधन गर्छ भनेर हामी पर्खिने अवस्थामा छौँ।’

सरकारले निजी क्षेत्रको मनोबल उकास्न निरन्तर गरिरहेको प्रयासबाट उद्योगी-व्यवसायीहरू आशावादी रहेको श्रेष्ठले बताए।

‘उद्योगीहरूले आफ्ना समस्या सरकारलाई राखेका छन्। हामी आशावादी पनि छौँ। अब बल सरकारको कोर्टमा छ। हामी नतिजा पर्खिरहेका छौं,’ श्रेष्ठले भने।

सरकार र मन्त्रीहरू नयाँ भएकाले पनि निजी क्षेत्रले उनीहरूलाई केही समय शंकाको सुविधा दिइरहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad