श्रम संस्कृति पार्टीका सांसद आरेन राईले इजरायल जाने श्रमिकले सास्ती खेप्नु परेको बताएका छन्। आज (बुधबार) को संसद बैठकमा बोल्दै उनले इजरायल जान चाहनेहरू परीक्षाका नाममा विभिन्न सास्ती भोग्नुपरेको बताएका हुन्।
‘युद्ध भूमि इजरायलबाट यस्तो परिस्थितिमा पनि कामदारको माग आएको रहेछ, त्यसमा पठाउन सरकारले तयारी गरिरहेको रहेछ,’ उनले भने, ‘बाँचे गरिखा, मरे मरिजा भन्ने हिसाबले इजरायल पठाउन निम्ती सीआईआईएन कन्सल्टेन्सीले परीक्षा लिइरहेको रहेछ, त्यहाँ सहभागी श्रमिकहरू विभिन्न किसिमका समस्याबाट ग्रसित रहेछन्।’
सर्भर डाउन हुने, परीक्षा दिँदादिँदै परीक्षा रोकिने, फेरि ५ हजार तिरेर परीक्षा दिनुपर्नेलगायतका समस्या भएको उनको भनाइ छ। राईले यसको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। यसले गर्दा बाहिरबाट काठमाडौँ आउने श्रमिकहरू समस्या परेको उनको भनाइ छ।
‘यसअघि अर्कै कन्सल्टेन्सीले परीक्षा लिने गरेको रहेछ, भर्खरै परिवर्तन गरिएको रहेछ, कसको स्वार्थमा के का लागि गरियो?,’ उनले प्रश्न गरे।
सीआईआईएन भन्ने संस्थाले इजरायलका लागि आवश्यक अंग्रेजी भाषाको परीक्षा सञ्चालन गर्ने गर्छ। इजरायलले केयरगिभरका लागि श्रमिक माग गरेको छ।

प्रतिक्रिया