राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको संवाद निष्कर्षविहीन भएपछि विपक्षी दलका सांसद छुट्टै छलफलमा जुटेका छन्।
प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्नका लागि सहमति जुटाउने रास्वपा सभापति लामिछानेले बुधबार विपक्षी दलसँग छलफल गरेका थिए। छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनलगायत विपक्षी दलका प्रमुख सचेतक सहभागी थिए।
छलफलमा रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्टीकरण दिने बताएका थिए।
त्यसमा विपक्षी दलले लचकता देखाउँदै प्रधानमन्त्री शाहले लिखित रुपमा धारणा दिनुपर्ने बताएका थिए। प्रधानमन्त्रीले दिएको लिखित धारणालाई जुनसुकै मन्त्रीले पढ्न सक्ने उनीहरूको भनाइ थियो।
त्यसमा भने रास्वपा सभापति लामिछाने सहमत भएनन्। जसले गर्दा सत्तापक्ष र विपक्षी दलको संवाद निष्कर्षमा पुग्न नसकेको एक नेताले बताए।
सत्ता पक्षसँगको संवाद निष्कर्षमा नपुगेपछि विपक्षी दलका सांसद छुट्टै छलफलमा जुटेका हुन्। अहिले कांग्रेस, एमाले र नेकपाका नेताहरू छलफल गरिरहेका छन्।
प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिले संसद्का दुवै सदनको बैठक चल्न सकेको छैन। विपक्षी दलले प्रधानमन्त्री शाहको भनाइ सच्याउनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विरोध जनाउँदै आएका छन्।
Shares

प्रतिक्रिया