नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा प्रविधिको विकासविना देशको समग्र विकास सम्भव नहुने बताउँदै आफूले वर्षौंदेखि माग गर्दै आएको मन्त्रालयको नेतृत्व गर्न पुगेको प्रतिक्रिया दिएका छन्।
मंगलबार मन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले विज्ञान तथा नवप्रवर्तन मन्त्रालय स्थापना हुनुपर्ने आवाज आफूले लामो समयदेखि उठाउँदै आएको स्मरण गरे। ‘यो मन्त्रालयको चाहना अहिलेदेखिको होइन, उहिल्यैदेखिको हो। यो मन्त्रालय नहुँदासम्म देश विकास हुँदैन भनेर एकोहोरो कराउने मान्छे मै हो। कराउँदा कराउँदै अहिले आफै त्यो पासोमा परियो,’ मन्त्री पुनले भने।
उनले मन्त्रालय सम्हालेलगत्तै ठूला र तत्कालै देखिने परिणामको अपेक्षा नगर्न आग्रह गर्दै उपलब्ध स्रोत र क्षमताअनुसार काम गर्ने बताए। ‘अब जे परे पनि बुद्धिले भ्याएजति काम गर्ने हो। सबै कुरा एकैचोटि आउँदैन,’ उनले भने।
आफ्नो कार्ययोजनाबारे अहिले नै विस्तृत रूपमा बोल्न नचाहेको बताउँदै पुनले विज्ञान र प्रविधि क्षेत्रमा परिवर्तन ल्याउन दीर्घकालीन सोच र निरन्तर लगानी आवश्यक पर्ने धारणा राखे। उनका अनुसार विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा गरिएको लगानीको परिणाम एक-दुई महिनामा होइन, वर्षौंपछि मात्रै देखिन्छ।
सरकारले आगामी आर्थिक वर्षका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। तर उक्त रकम पर्याप्त नभएको मन्त्री पुनको भनाइ छ। ‘समग्र बजेटको १ प्रतिशत रकम मन्त्रालयलाई विनियोजन गरिएको छ, तर त्यो धेरै पैसा होइन। यो पैसाले दशैंमा टीका लगाउन मात्रै पुग्छ,’ उनले व्यंग्यात्मक शैलीमा भने।
उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा अर्थपूर्ण उपलब्धि हासिल गर्न कम्तीमा एक दशक लाग्ने उल्लेख गर्दै अल्पकालीन चमत्कारभन्दा दीर्घकालीन आधार निर्माणमा ध्यान केन्द्रित रहने बताए।
Shares

प्रतिक्रिया