राजनीति


पर्वतारोहण सुरक्षित पार्ने प्रविधि दिन तयार छौँ: रोजर्स

पर्वतारोहण सुरक्षित पार्ने प्रविधि दिन तयार छौँ: रोजर्स

अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स


नेपालखबर
जेठ १७, २०८३ आइतबार १६:४९, काठमाडौँ

नेपालको हिमाली पर्यटन र पर्वतारोहण क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन अमेरिकी प्रविधि महत्त्वपूर्ण सारथि बन्न सक्ने अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले बताएकी छिन्।

नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित ‘द एसेन्ट समिट’ मा बोल्दै अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले पर्वतारोहण क्षेत्रमा अमेरिकी प्रविधिको सम्भावना र द्विपक्षीय सहकार्यको आवश्यकतामा जोड दिइन्।

उनले खासगरी नेपालको भौगोलिक चुनौती र बदलिँदो वातावरणीय अवस्थामा आधुनिक प्रविधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन्।
रोजर्सले नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा वर्णन गर्दै नवप्रवर्तन, उद्यमशीलता, शिक्षा तथा सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले हिमालले संसारलाई साहस, धैर्य र सहकार्यको पाठ सिकाउने उल्लेख गर्दै यही मूल्यले नेपाल–अमेरिका सम्बन्धलाई पनि मार्गदर्शन गरिरहेको बताइन्।

‘हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो कोसँग यात्रा गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ,’ उनले भनिन् ‘संयुक्त राज्य अमेरिका नेपालसँगको ७९ वर्ष पुरानो मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताको शिखरहरू सँगै चढ्न चाहन्छ।’

उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको ६ दशकभन्दा लामो पर्वतारोहण सम्बन्धको स्मरण समेत गरिन्। सन् १९६३ मा अमेरिकी आरोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँग मिलेर गरेको ऐतिहासिक सगरमाथा आरोहणले दुई देशबीचको जनस्तरको सम्बन्धलाई बलियो जग दिएको उनको भनाइ थियो। ७९ वर्ष पुरानो कूटनीतिक मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताका शिखरहरू सँगै चढ्न अमेरिका तयार रहेको उनले बताइन्।

कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सगरमाथा नेपालको अन्तरराष्ट्रिय पहिचान, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको सबैभन्दा महत्वपूर्ण आधारमध्ये एक भएको बताएकी थिइन्।

उनले सगरमाथाले विश्वसामु नेपालको परिचय स्थापित गर्न अतुलनीय भूमिका खेलेको उल्लेख गरिन्।

सभापति उदासले पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसले वायुसेवा कम्पनी, होटेल, रेष्टुरेन्ट, ट्राभल कम्पनी, गाइड, भरिया, स्थानीय व्यवसाय तथा हिमाली समुदायहरूको जीविकोपार्जनमा ठूलो योगदान पुर्‍याइरहेको बताइ । प्रत्येक वर्ष हजारौँ विदेशी पर्यटक, पर्वतारोही, अनुसन्धानकर्ता, चलचित्र निर्माता तथा साहसिक यात्रुहरू हिमालको आकर्षणले नेपाल आउने गरेको उनको भनाइ थियो।

उनले पश्चिम एसियामा देखिएको सङ्कटका कारण नेपालको समग्र पर्यटन क्षेत्रमा असर परे पनि पर्वतारोहण गतिविधि तुलनात्मक रूपमा स्थिर रहनुले नेपालको हिमाली पर्यटनप्रतिको विश्वव्यापी आकर्षण अझै बलियो रहेको प्रमाणित गरेको धारणा राखिन्।

सभापति उदासले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भीर असर पुर्‍याइरहेको भन्दै हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको, पुराना आरोहण मार्गहरू परिवर्तन भइरहेको तथा वातावरणीय चुनौतीहरू बढ्दै गएको उल्लेख गरिन्। ‘हाम्रा हिमालहरूले नेपाललाई विश्वभर परिचित गराएका छन्। अब तिनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,’ उनले भनिन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad