नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहले सरकार नागरिकको हत्यामा उत्रिएको आरोप लगाएको छ। बुधबार आफ्नो पार्टीका सगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगा जिल्ला समितिका सेक्रेटरी निरकुमार राईको प्रहरीसँगको झडपका क्रममा मृत्यु भएपछि विप्लव समूहले उक्त आरोप लगाएको हो।
बुधबारकै मितिमा प्रकाशित विज्ञप्तिमा मृतक राई ‘प्रशान्त’लाई नेकपाले शहीद घोषणा समेत गरेको जनाइएको छ। भोजपुर सदरमुकाममा रहेका आफ्नो परिवारसँग भेटघाट सकेर फर्किने क्रममा राईको बुधबार मृत्यु भएको थियो। सो क्रममा प्रहरी जवान सञ्जीव कुमार राईको पनि मृत्यु भएको थियो।
विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला सामाजिक फासीवादी जनहत्यारो केपी–पीके सरकार एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको छ।’ गत जेठ ७ मा पनि भोजपुर टेम्के मयुम गाउँपालिका २ दलसिंगेमा हिँडिरहेका बेला भोजपुरका तीर्थराज घिमिरेको पनि मृत्यु भएको थियो।
राईको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको विप्लव समूहले जनाएको छ।


प्रतिक्रिया