नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीयता जस्ता राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। पूर्वराष्ट्रपति डा. यादवले नयाँ उदाएका राजनीतिक शक्तिहरू, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै जनमतको कदर गर्न र व्यवस्था जोगाउन सक्रिय हुन आग्रह गरे।
उनले भने, ‘नेपाली जनताले मुरीका मुरी भोट दिएर नयाँ युवाहरूलाई संसदमा पठाएका छन्। यो ७०–८० वर्षको लामो संघर्षबाट प्राप्त उपलब्धि हो। यो व्यवस्थालाई बचाएर देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सुदृढ बनाउनु युवा पुस्ताको दायित्व हो।’
डा. यादवले बीपी कोइरालाको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ को आदर्श अझै पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै विश्वभर बढ्दो दक्षिणपन्थी पपुलिज्मप्रति चिन्ता व्यक्त गरे। उनले लोकतन्त्रमाथि विश्वव्यापी रूपमा खतरा बढिरहेको औँल्याउँदै नेपालले आफ्ना लोकतान्त्रिक मूल्य–मान्यतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।
संसदीय व्यवस्थाका आधारभूत खम्बाका रूपमा रहेका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र राष्ट्रपतिको संस्थाबीच उचित समन्वय हुनुपर्ने उनको तर्क छ।
बीपी कोइरालाको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘राजनीति खेलको नियम जस्तै हो, सबैले आफ्नो परिधिभित्र रहेर काम गर्नुपर्छ। यी संस्थाहरूबीच समन्वय अभाव भएमा व्यवस्था नै कमजोर हुन सक्छ।’
पूर्वराष्ट्रपति यादवले सरकारको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गरे। प्रधानमन्त्रीले लामो समयदेखि संसद र जनतालाई सम्बोधन नगरेको भन्दै उनले संसदीय पद्धतिमा प्रधानमन्त्री देशको नेता भएको बताए।
गणतन्त्र दिवस जस्तो गरिमामय अवसरमा प्रधानमन्त्रीले टुँडिखेलको मञ्चबाट देशको आर्थिक, शैक्षिक, स्वास्थ्य र वैदेशिक नीतिका बारेमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने र जनता उनको दृष्टिकोण सुन्न आतुर रहेको बताए।
Shares

प्रतिक्रिया