सभामुखको आदेशबिनै आफ्ना एक सांसदलाई मर्यादापालकले निकालेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस सांसद निश्कल राईले नियमावलीविपरीत भए सभामुखले सचेत गराउने नियम हुँदाहुँदै मर्यादापालकले निकालेको भन्दै आपत्ति जनाएका हुन्।
मर्यादापालकले कांग्रेस सांसद गीताकुमारी सेन्दाङलाई बैठक चलिरहँदा फोटो खिचेको भन्दै बाहिर निकालेर फोटो डिलिट गर्न लगाएका थिए। सो विषयमा राईले सभामुखको आदेशबेगर गरिएको गतिविधि सह्य नभएको बताएका छन्।
‘सभामुखले सचेत गराउने हो, नमानेमा बाहिर निस्कन आदेश दिने हो,’ उनले भने, ‘सभामुखले आदेश कानेखुसी गरेर दिने होइन, कानेखुसीबाट सदन अगाडि बढ्न सक्दैन।’
सभामुख डोलप्रसाद अर्यालले सांसद सेन्दाङलाई बाहिर ननिकालिएको बताएका छन्। आफूतर्फ स्पष्ट देखिने गरी आफ्नो मोबाइलबाट भिडियो र फोटो खिच्ने प्रयास गरेको र सो जाँचका लागि आफूले नै मर्यादापालकलाई निर्देशन दिएको बताएका हुन्।
‘उहाँको गतिविधि सभा सञ्चालनको मर्यादाविपरीत थियो, मैले आफ्नो ड्यासबाट मर्यादापालकलाई फोटो/भिडियो खिचिएको छ कि छैन भनेर निर्देशन दिएको हो,’ उनले भने, ‘सोहीअनुसार जाँच गरिएको हो। बाहिर निकालिएको होइन।’
Shares

प्रतिक्रिया