सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह छिट्टै संसद् आउने बताएका छन्। यसका लागि छलफल चलिरहेको अर्यालको भनाइ छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शासँग प्रश्नोत्तरको कार्यक्रम राख्न माग गर्दै विपक्षी दलका सांसदले विरोध जनाएका छन्। सांसदको माग जायज रहेको बताउँदै सभामुख अर्यालले यसका लागि छलफल चलिरहेको बताएका हुन्।
‘माननीयहरूले राखेको मागप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुख अर्यालले भने, ‘प्रधानमन्त्रीज्यू आउनुपर्छ, आउनुहुन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रधानमन्त्री शाहसँग छलफल भइरहेको सभामुख अर्यालले बताए। आफूले पनि छलफल गरिरहेको बताउँदै अर्यालले भने, ‘छिट्टै मिति तय गर्ने भन्ने सूचनामा आएको छ। सरकारको तर्फबाट मिति तय हुने बितिक्कै प्रधानमन्त्रीज्यू आउनुहुनेछ।’
प्रधानमन्त्री शाह कहिले संसद्मा आउने भनेर विपक्षी दलका सांसदले प्रश्न गरेका थिए। त्यसको उत्तरमा सभामुख अर्यालले भने, ‘छिटै संसद्मा उपस्थित हुने र सांसदको प्रश्नोत्तर दिने पनि जानकारी दिनु भएको छ। मिति तय हुने वितिक्कै जानकारी गराउनेछु।’
विपक्षी दलका सांसदले भने मिति तय गर्न माग गरेका छन्। विपक्षी दलका सांसदको विरोधबीच सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक अगाडि बढाएका छन्।
Shares

प्रतिक्रिया