राजनीति


राजीनामाको आवाज उठेपछि ओलीको जवाफ- म बकाइदा चुनाव जितेर आएको हुँ, छोड्दिनँ

राजीनामाको आवाज उठेपछि ओलीको जवाफ- म बकाइदा चुनाव जितेर आएको हुँ, छोड्दिनँ

नेपालखबर
जेठ ९, २०८३ शनिबार २०:१३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नाविरुद्ध जति गतिविधि भए पनि पद नछाड्ने प्रष्ट जवाफ दिएका छन्। 

ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेलसहित नेताहरूले चुनावी परिणामलगायतका विषयलाई लिएर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनीहरू अब ओलीको नेतृत्वमा एमाले चल्न नसक्ने भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। 

नेताहरूले पार्टी पुनर्गठन र मार्गप्रशस्तको कुरा गरेपछि अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएको एक पदाधिकारीले बताए। उनले एमाले नेतृत्व नछोड्ने बताए। 

‘मलाई कसैले सम्झाउनै पर्दैन। किन सम्झाउनु, कसले सम्झाएको?,’ ओलीले भने, ‘यो पद मैले त्यसै लिएको होइन, बकाइदा चुनावबाट जितेर दिइएको हो।’

पार्टीभित्र भइरहेका गतिविधि आफूले नियाली रहेको ओलीको भनाइ थियो। उनले दोहोर्‍याएरै भने, ‘म छोड्दिनँ।’

एमाले सचिवालय बैठकमा बोलेका नेताहरूमध्ये शुक्रबार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ मात्रै ओलीको पक्षमा उभिएका थिए। त्यस्तै, शनिबार सचिव महेश बस्नेतसहित दुई जना सचिव मात्रै ओलीको पक्षमा बोले। 

एमाले प्रवक्तासमेत रहेका उपमहासचिव लेखराज भट्टले बीच-बीचको धारण राखेको एक पदाधिकारीले बताए। अन्य उपाध्यक्ष, उपमहासचिव र सचिव भने ओलीको विपक्षमा उभिएका छन्। उनीहरू ओली अध्यक्षबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन्। 

सचिवालय बैठकमा सहभागी पदाधिकारीहरूका अनुसार, ओलीको विपक्षमा बोल्नेहरूमध्ये केहीले ‘राजीनामा’ शब्द नै प्रयोग गरेका छन् भने केही ‘मार्गप्रशस्त’ भनेका छन्। 

दुई दिनदेखि जारी बैठकमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र केही सचिवले आफ्नो धारणा राखिसकेका छन्। आइतबारको बैठकमा चार जना सचिवले बोल्ने कार्यसूची छ। त्यसपछि सचिवालय बैठक अन्त्य हुनेछ। 

एमाले बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनसँगै ११ वटा एजेन्डा छन्। अर्को बैठक आइतबार बिहान साढे ११ बजे अध्यक्ष ओली निवास गुण्डुमै बस्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad