मधेश प्रदेश सरकारलाई समर्थन जारी राख्ने निर्णय गरे पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्रीहरू बर्खास्त भएका छन्।
मुख्यमन्त्री कृष्ण यादवले एमालेलाई सरकारमा सहभागी गराउँदै जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हन्।
गएराति मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समिरलाई बिना विभागी मन्त्री नियुक्त गरेका छन्।
जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन्।
बाराबाट निर्वाचित सांसद समीरलाई बिहीबार राति नै प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
मधेस सरकारमा एमाले सहभागी, समीरले लिए शपथ
प्रदेश सभामा २६ सिट रहेको जसपाबाट सरकारमा भौतिक पूर्वाधारमन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन थिए।
मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै उनीहरुलाई राजीनामा दिन भने पनि जसपाले सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको थियो।
जनमत पार्टीका दुई मन्त्रीले भने राजीनामा दिएका छन्। जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेसमा फेरि सत्ता समीकरण फेरबदल भएको हो।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपूर्व एमाले मधेस सरकारमा सहभागी भएको हो। मुख्यमन्त्री यादवले आज (शुक्रबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।
अब मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मात्रैको सरकार बनेको छ। मुख्यमन्त्री यादवलाई निरन्तरता दिँदै सरकारलाई अघि बढाउने निर्णय तीन दलले गरेका हुन्।
यसअघि एमाले संसदीय दलका नेता सरोज यादव नेतृत्वको सरकार ढालेर कांग्रेसका यादव मधेसको मुख्यमन्त्री बनेका थिए।

Shares

प्रतिक्रिया