सत्तारुढ रास्वपाका सांसद भरत पराजुलीले डोजर आतंक बन्द गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्ना धारणा राख्दै उनले सिन्धुपाल्चोककोफ अरनिको राजमार्गको दोलालघाट, सुकुटे, बलेफी, अँधेरी, खाडीचौर, लामोसाँघु, बाह्रबिसे र तातोपानी क्षेत्रमा डोजर आतंक सिर्जना भएको भन्दै त्यसलाई बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘अरनिको राजमार्ग निर्माणसँगै बजार विकास भई आर्थिक कारोबारका केन्द्रका रूपमा यी क्षेत्रले जनताहरूलाई सेवा दिइरहेका छन्,’ उनले भने, ‘यी बजारका अधिकांश घरहरू पुस्तान्तरण भएर स्वामित्व हस्तान्तरण भएका हुन्। अहिले अतिक्रमण भएका होइनन्।’
उनले हाल स्थानीय तहले संघीय सरकारको निर्देशन भन्दै डोजर आतंक सिर्जना गरी नागरिकलाई त्रसित बनाएको भन्दै सांसद पराजुलीले डोजर आतंक बन्द गरिनुपर्नेमा जोड दिए।
‘यसखालको स्थानीय सरकारको निर्णयबाट नागरिकको संविधान प्रदत्त सम्पत्तिसम्बन्धी हकको हनन् हुने अवस्था आएको छ। रणनीतिक राजमार्ग भएकोले यसको विस्तार र स्तरोन्नति हुनुपर्छ। यसमा नागरिकहरूको पूर्ण सहयोग रहन्छ।’
अरनिको राजमार्ग निर्माणका क्रममा सडक र नाला निर्माण भएको भाग बाहेक बाँकी जग्गाको लगत अझैसम्म कट्टा नगरिएको उनले बताए।
Shares

प्रतिक्रिया