नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षार्थ अघि बढ्ने बताएका छन्।
सोमबार काभ्रेको धुलिखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै गर्नु रहेको बताए
‘वर्तमान समयमा कांग्रेसको मुख्य जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको छ,’ सभापति थापाले भने। थापाले मुलुकमा वर्तमान प्रमुख चुनौती आर्थिक सङ्कट रहेको उल्लेख गर्दै महँगीले नागरिकको ‘खल्ती र भान्सा’ दुवै प्रभावित भएको बताए।
‘नेपालका बैंकमा पर्याप्त रकम भए पनि लगानी हुन सकेको छैन, सानाठूला व्यवसायी ऋण तिर्न नसकेर भाग्ने अवस्थामा छन् र किसानसमेत समस्यामा परेको वर्तमान अवस्थामा सरकारले अब राजनीतिक विवादभन्दा पनि अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्छ’, उनले भने।।
फरक प्रसङ्गमा थापाले कांग्रेस पार्टीभित्रको गुटबन्दी र सार्वजनिक विवादप्रति असन्तुष्टि जनाउँदै यसले कांग्रेसको छवि क्रमशः कमजोर बनाउँदै गएको बताए।
आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मात्र लक्ष्य नबनाई राष्ट्र, लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न उनले प्रदेशका नेताकार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी अहिले ‘गुट भत्काउने र पार्टी बनाउने’ नीतिमा अघि बढिरहेको बताए। ‘विशेष महाधिवेशनमा सहभागी नभएकालाई समेटेर जिम्मेवारी दिइँदै गइएको छ, यसलाई पार्टी एकताको सङ्केतका रूपमा लिनुपर्छ’, उनले भने।
विशेष महाधिवेशनका सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्ने भएकाले विशेष अधिवेशनमा सहभागी नभएकालाई समेटेर क्रमशः जिम्मेवारी दिइँदै गएकाले थपलाई पनि समेटिने उनको भनाइ थियो।
सो अवसरमा पार्टीका महामन्त्री प्रदीप पौडेल, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँलगायतले कांग्रेस पार्टी गरिब निमुखाको पार्टी भएको दाबी गरे।
Shares

प्रतिक्रिया