सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले संसद्मा सत्ता र प्रतिपक्षले कानुन निर्माण र जनजीविकाको सवालमा दलीय चश्मा फुकाल्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै आचार्यले राम्रो सुझाव लिनुपर्ने बताए। प्रतिपक्षले पनि सरकारले ल्याएको राम्रो नीति तथा कार्यक्रमलाई पनि कर्मकाण्डी भनेर विरोध गर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी नियमावली बनाउनुपर्ने बताए।
संसदमा सत्तापक्ष र प्रतिपक्ष एकले अर्काको जस्तोसुकै राम्रो प्रस्तावलाई पनि प्रस्ताव अस्विकार गर्ने गलत भाष्यको अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
‘सत्तापक्षको अवस्था पनि उदेक लाग्दो छ। प्रतिपक्षले जतिसुकै रचनात्मक र आवश्यक संशोधन किन नराखोस, त्यसको गुण र दोषमाथि सार्थक छलफल नगरी ती हुबहू अस्विकृत हुन्छन्,’ आचर्याले भने, ‘प्रतिपक्षको संशोधन स्वीकार गर्दा सरकारको दस्तावेज विटुलो हुन्छ भन्ने जुन एउटा अघोषित र गलत भाष्य यहाँ स्थापित छ। अब त्यसलाई तोड्नुपर्दछ।’
उनले कानुन निर्माण र जनजीविकाको सवाललाई दलीय आधारमा नभई गुण र दोषको आधारमा निर्णय गर्न सक्ने गरी संसदलाई अघि बढाउनुपर्ने बताए।
‘म बुझदछु– सरकार निर्माण, बजेट, अध्यादेशजस्ता केही आधारभूत प्राविधिक विषयहरूमा दलको ह्वीप अनिवार्य हुन्छ। र, त्यहाँ कित्ताकाँट जरुरी पनि हुन्छ। तर त्यो विषयभन्दा पर कानुन निर्माण र जनजीविकाको सवालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले दलीय चश्मा फुकालेर गुण र दोषको आधारमा निर्णय गर्न सक्ने पद्धति यो नियमावलीले समेटोस्,’ आचार्यले भने।
Shares

प्रतिक्रिया