राजनीति


मदन भण्डारीलाई सम्झिँदै ‘भावुक’ भए ओली: एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ

मदन भण्डारीलाई सम्झिँदै ‘भावुक’ भए ओली:  एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ

नेपालखबर
जेठ ३, २०८३ आइतबार ८:४९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन-आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा आज जेठ ३ गते पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको स्मरण गहिरो रूपमा गरेका छन्। 

आइतबार बिहान सामाजिक सञ्जालमार्फत ‘श्रद्धाञ्जली, उच्च सम्मान’ व्यक्त गर्दै भण्डारीलाई सम्झिँदा एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभएर एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति भएको बताएका छन् । 

‘आज मदन-आश्रितको ३३औँ स्मृति दिवस। ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौँ’, ओलीले लेखेका छन्, ‘घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्।...मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ। जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ। प्रिय मदन-आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान!’

मदन भण्डारी र जीवराज आश्रित

मदन-आश्रितबारे यस्तो छ ओलीको पूरा श्रद्धाञ्जली सन्देश

आज मदन-आश्रितको ३३औँ स्मृति दिवस। ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौँ।

घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्।

जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा- सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो। मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो। त्यस दौरानमा उहाँको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको छ। जनताको बहुदलीय जनवाद, जसले विचारलाई युगअनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दियो। त्यसलाई हामीले 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौँ। पछिल्लो दशकमा हाम्रो त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको थियो।

मदन भण्डारी-जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कैयौँ अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन्। जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो।

मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ। जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ।

प्रिय मदन-आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad