सरकारले संसद् छलेर ल्याएका अध्यादेश जारी नगर्न विपक्षी दलले राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गरेका छन्।
बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले संसद् छलेर अध्यादेश ल्याउने सरकारको कार्यको विरोध गरेको छ।
विपक्षी दलले अध्यादेशको विरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले बताए। ‘विपक्षी दलको बैठकले संसद् छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गरेको छ,’ दुलालले भने।
त्यस्तै, विपक्षी दलले राष्ट्रपतिलाई अध्यादेश जारी नगर्न पनि आह्वान गर्ने निर्णय गरेको छ। ‘राष्ट्रपतिलाई अध्यादेश स्वीकृत नगर्न अनुरोध गर्ने निर्णय भएको छ,’ दुलालले नेपालखबरसँग भने।
विपक्षी दलको बैठकले चार वटा निर्णय गरेको छ। तेस्रो निर्णयमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस भई गएका अध्यादेशहरू संसद् छल्ने उद्देश्यलका साथ सिफारिस भई आएका हुनाले स्वीकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौँ।’
यससँगै विपक्षी दलको बैठकले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आह्वान गरेको छ। उनीहरूले तत्काल संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन्।
सरकारले सोमबार संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको थियो। त्यस्तै, मंगलबार थप तीन वटा अध्यादेश पठाएको छ। जसमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश रहेको जनाइएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सरस्वती तामाङलगायत सांसद सहभागी भएका थिए। श्रम संकृति पार्टीका सांसद भने बैठकमा सहभागी भएनन्।

Shares

प्रतिक्रिया