शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुकुम्बासी बस्ती हटाउँदा मर्कामा परेका विद्यार्थीको पठनपाठन नियमित बनाउनका लागि सहजिकरण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ।
सोमबार केन्द्रका निर्देशक निलकण्ठ ढकालले सबै स्थानीय तहलाई पत्र पठाएर सुकुम्बासी बस्तीका विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित बस्तीमा रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ।
‘विद्यार्थीहरू विद्यालय पहुँच, नियमित उपस्थिति, शैक्षिक सामग्री, सुरक्षित वातावरणलगायतका आधारभूत सुविधाबाट वञ्चित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यार्थीहरूको पठनपाठन कार्य नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्न तपशिल बमोजिम सहजीकरण गर्न गराउनुहुन निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।
केन्द्रले सुकुम्बासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ। खासगरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरेको छ।
सुकुम्बासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो, समस्या या सुझाव भए पनि केन्द्रमा पठाउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ।

Shares

प्रतिक्रिया