नेकपा (एमाले)ले सुकुम्बासी बस्तीमा डोजर चलाएर जरबजस्ती विस्थापन नगर्न सरकारलाई आग्रह गरेको छ।
शुक्रबार एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले प्रेस विज्ञप्ति जारी गरी सुकुम्बासी बस्तीमा बल प्रयोग नगर्न सचेत गराएको हो। एमालेले भनेको छ, ‘गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि गरिएको अमानवलीय र असंवेदनशील व्यवहारप्रति हाम्रो पार्टी कडा आपत्तिसहित घोर भर्त्स ना प्रकट गर्दछ।’
सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग गाँसिएको उल्लेख गर्दै बलपूर्वक हटाउने उपायबाट समाधान गर्न खोज्नु दिगो र न्यायोचित नहुने जनाएको छ। ‘बल प्रयोग, राज्यको संस्थागत धम्की तथा संवादविहीन एकपक्षीय निर्णयहरू मावनीय तथा कानुनी दुवै दृष्टिले अनुपयुक्त र आपत्तिजनक छन्,’ विज्ञप्तिमा भनिएके छ।
सुकुम्बासी समुदाय तथा नगारिकमाथि अन्याय हुने कुनै पनि कदमको सशक्त विरोध गर्ने एमालेले जनाएको छ। ‘बल प्रयोग गरेर सुकुम्बासी समुदायलाई विस्थापित गराउँदा गम्भीर विवाद सिर्जना हुनसक्ने विषयप्रति समेच रहन र संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी मूल्य र मान्यता, हाम्रो संवैधानिक रुपमा व्यवस्था गरिएका मौलिक अधिकारहरूको गम्भीर उल्लघंन नगर्न हामी खबरदारी गर्दछौँ,’ एमालेले भनेको छ।
सरकारले नदी किनारका बस्ती हटाउने भएको छ। काठमाडौँमा शुक्रबार साँझ ७ बजेसम्म बस्ती खाली गर्न समय दिएको छ भने शनिबार बिहान ६ बजेदेखि नै भत्काइने चेतावनी दिएको छ।

Shares

प्रतिक्रिया