राजनीति


जनजीविका मुद्दामा जिम्मेवार बन्न सरकारलाई महरको आग्रह

जनजीविका मुद्दामा जिम्मेवार बन्न सरकारलाई महरको आग्रह

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १२:५३, काठमाडौँ

नेपाली कांग्रेसका नेता नैनसिंह महरले अधिकार संरक्षण, जनजीविका सुधार र सुकुम्बासी समस्याप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। 

लोकतन्त्र दिवसको सम्झनामा स्कुल अफ डेमोक्रेसीद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महरले यस्तो आग्रह गरेका हुन्। सुकुम्बासी तथा भूमिहीन समुदायको विषय उठाउँदै उनले भने, ‘दीगो व्यवस्थापनविना हुने विस्थापन लोकतान्त्रिक राज्यको संवेदनशीलता र न्यायमाथिको प्रश्न हो।’ 

बढ्दो महँगी, बेरोजगारी र कमजोर सेवा प्रवाहका कारण जनजीविका थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले सरकारको ध्यानाकर्षण गराए। सरकारलाई अधिकार संरक्षण, जनजीविका सुधार र सुकुम्बासी लगायत संवेदनशील वर्गप्रति न्यायपूर्ण र दीगो नीति अवलम्बन गर्न उनको आग्रह छ। ‘यी विषयमा ढिलाइ भयो भने लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुन सक्छ,’ महरले भने। 

राज्य संरचनामा देखिँदै गएको केन्द्रीकरण र अधिकार संकुचनप्रति चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रको मूल मर्म विकेन्द्रीकरण, सहभागिता र उत्तरदायित्व भएको स्पष्ट पारे। २०६३ सालको ऐतिहासिक जनआन्दोलनलाई स्मरण गर्दै महरले भने, ‘जनताको नैतिक बलले निरंकुशतालाई झुकाएको दिन हो आज। लोकतन्त्र केवल उपलब्धि होइन, निरन्तर जिम्मेवारी हो।’

लोकतान्त्रिक व्यवस्थाले संस्थागत उपलब्धि हासिल गरे पनि जनअपेक्षा अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको उनले उल्लेख गरेका छन्। जनविश्वास कमजोर हुँदा राजनीतिक सन्तुलनमा परिवर्तन आउने संकेतलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए। 

‘लोकतन्त्र दिवस केवल उत्सव होइन, आत्मसमीक्षा र सुधारको अवसर पनि हो,’ महरले भने, ‘लोकतन्त्रको सार उत्तरदायित्व, समावेशिता र न्याय हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad