राजनीति


सीमा क्षेत्रमा मधेसीमाथि चरम दमन भइरहेको छ, विद्रोह हुनसक्छ: महन्थ ठाकुर

सीमा क्षेत्रमा मधेसीमाथि चरम दमन भइरहेको छ, विद्रोह हुनसक्छ: महन्थ ठाकुर

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १२:०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले मधेस र नेपाल-भारत सीमा क्षेत्रमा व्याप्त अशान्ति र सर्वसाधारणमाथि भइरहेको दुर्व्यहारप्रति चिन्ता व्यक्त गर्दै विद्रोह हुनसक्ने चेतावनी दिएका छन्। 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ठाकुरले सीमा क्षेत्रका भन्सार र सुरक्षाकर्मीले ‘तजबिजी अधिकार’को दुरुपयोग गरी सर्वसाधारणलाई दुःख दिने गरेको बताएका छन्। ‘सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा पनि ट्याक्सको दायरा भन्दै घण्टौँ कुराउने, अनुहार हेरेर व्यवहार गर्ने र मानिसहरूलाई अपमानित गर्ने काम भइरहेको छ,’ ठाकुरले भने। 

कानुन स्पष्ट नहुँदा हाकिमहरूको तजबिजी चल्ने र त्यसले भ्रष्टाचार तथा सास्ती बढाएको उनको भनाइ छ। विगतमा काम र खाद्यान्नका लागि मानिसहरू नेपाल आउने गरेको स्मरण गर्दै ठाकुरले अहिले स्थिति उल्टो भएको बताए। 

‘खाद्यान्न र नुन-तेलका लागि भारतीय बजारको बाध्यता छ। अहिले गरिब जनता आधा किलो चामल, पीठो, नुन र कुकिङ तेलका लागि सीमा पारि जान बाध्य छन्,’ ठाकुरले भने, ‘त्यही एक-दुई किलो सामान ल्याउँदा पनि सीमामा लुटिने र खोसिने डर छ।’

सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको ठाकुरको भनाइ छ। ‘मन्त्रीज्युहरू मिटिङमा व्यस्त हुनुहुन्छ, हाम्रो कुरा सुन्ने समय उहाँहरूसँग छैन। हामी विद्रोही त होइनौँ, तर राज्यको यस्तै व्यवहार रहिरहने हो भने हामी विद्रोहको निकै नजिक छौँ,’ ठाकुरले भने। 

सीमा सुरक्षाका नाममा महिलाहरू सबैभन्दा बढी प्रताडित भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरे। नेपाल र भारतबीचको ‘रोटी-बेटी’ को सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएकोमा उनले आपत्ति जनाए। विवाहका गाडीहरूलाई रोक लगाउने र जन्ती-बरीतलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशको सांस्कृतिक वातावरण बिगारिरहेको उनको भनाइ छ। 

वर्तमान सरकारलाई ‘हेलिकप्टर सरकार’ को संज्ञा दिँदै उनले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेसको भुइँमान्छेको पीडा थाहै नभएको बताए। ठाकुरले मधेसका बुद्धिजीवी र मिडियाले अहिले बिस्तारै आँखा खोल्न थालेको भए पनि सत्ताले मधेसको आवाजलाई अझै बेवास्ता गरिरहेको गुनासो गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad