नेपाल विद्यार्थी संघले शान्तिपूर्ण आन्दोलनमा आफ्ना दुई नेता पक्राउ परेका जनाएको छ।
पक्राउ परेका विद्यार्थी नेताहरूलाई निसर्त रिहा गर्न नेविसंघले माग गरेको छ।
कार्यवाहक सभापति नवीन पौडेलले बुधबार एक विज्ञप्ति जारी गरी विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्ध, स्ववियु खारेज, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी, सुशासन लगायतका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
सोही सन्दर्भमा, शान्तिपूर्ण आन्दोलनमार्फत उक्त निर्णयको विरोध गरिरहेका नेपाल विद्यार्थी संघका पब्लिक युथ क्याम्पसका निवर्तमान स्ववियु सभापति नवीन पाण्डे र इकाई अध्यक्ष रविन्द्र दाहाललाई पक्राउ गरिएको उनले जनाएका छन्।
‘लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै गरिएको शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्नु सरकारको निरंकुश प्रवृत्तिको प्रत्यक्ष उदाहरण हो’ विज्ञप्तिमा भनिएको छ, ‘अतः पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल बिना शर्त रिहा गर्न नेपाल विद्यार्थी संघ सरकारसँग जोडदार माग गर्दछ। अन्यथा, नेपाल विद्यार्थी संघ थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने जानकारी गराइन्छ।’
Shares

प्रतिक्रिया