प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू व्यक्ति केन्द्रित नभई संस्थाको गरिमा उच्च बनाउन केन्द्रित हुने बताएका छन्।
शुक्रबार संसदीय मामिला पत्रकार समाजका पदाधिकारीसँगको भेटमा सभामुख अर्यालले आफू संसद् जस्तो गरिमामय संस्थाको नेतृत्व गरिरहेकाले यसको सम्मान र मूल्य-मान्यता जोगाउनु मुख्य जिम्मेवारी रहेको बताए। आफ्नो तर्फबाट कुनै गल्ती भएमा तुरुन्तै स्वीकार गर्न र माफी माग्न तयार रहेको बताउँदै उनले आफ्ना कमजोरी बेलैमा औँल्याइ दिन पत्रकारलाई अनुरोध गरे।
‘विगतका सभामुखहरूबाट भएका राम्रा कामहरू म कपी गर्नेछु र ती नजिरहरूलाई अझ सुदृढ बनाउनेछु। तर, यदि कतै त्रुटि वा कमीकमजोरी भएको छ भने त्यसलाई नदोहोर्याउन म सचेत छु,’ अर्यालले भने, ‘मलाई कसैले प्रहार गर्दा क्षणिक फाइदा होला तर संस्थालाई प्रहार गर्दा समाजलाई ठूलो घाटा हुन्छ। त्यसैले संस्थालाई सुदृढ बनाउने गरी यहाँहरूको आलोचनात्मक साथको अपेक्षा गरेको छु।’
संसदबाट जनताले गरेको अपेक्षाभन्दा अझ बढी परिणाम दिन आफू क्रियाशील रहने उनको भनाइ थियो। संसदको सूचना प्रवाह र प्रश्नोत्तरको शैलीलाई अझ सुसंस्कृत बनाउनुपर्नेमा उनले जोड दिए।
सभामुख अर्यालले कानुन निर्माण प्रक्रियालाई तिब्र गतिमा अघि बढाउने आफ्नो योजना रहेको बताए। विकास, समृद्धि र नागरिकको खुशीका लागि कानुन निर्माणमा हुने ढिलाइले समाजलाई अपूरणीय क्षति पुग्ने उनको भनाइ थियो।
‘हामीसँग पाँच वर्ष छ नि भनेर बिस्तारै काम गर्नु भनेको नागरिकले पाउने सेवा ढिलो बनाउनु हो। जति छिटो कानुन बनाउँछौँ, नागरिकले त्यति नै छिटो त्यसको लाभ प्राप्त गर्छन्। त्यसैले म विधि, प्रक्रिया र संविधानलाई अक्षरशः पालना गर्दै जतिसक्दो फास्ट काम गर्ने तयारीमा छु,’ उनले भने।
Shares

प्रतिक्रिया