कोशी


विराट गोल्ड कपमा झापा ११ र सम्राट स्पोर्टिङ भिड्ने

विराट गोल्ड कपमा झापा ११ र सम्राट स्पोर्टिङ भिड्ने

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १७:५९, विराटनगर

विराटनगरको शहिद रंगशालामा जारी विराट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि झापा–११ र सम्राट स्पोटिङ क्लब विराटनगर भिड्ने भएका छन्।

२०८२ चैत्र २८ गतेदेखि सुरु भएको यस प्रतियोगिताको फाइनल खेल आगामी वैशाख ५ गते शनिबार रात्रिकालीन समयमा आयोजना गरिँदैछ। दुवै टोली उपाधि जित्ने उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेका हुन्।

फाइनलसम्मको यात्रा तय गर्ने क्रममा झापा–११ ले सेमिफाइनलमा नेपाल प्रहरी क्लबलाई पराजित गरेको थियो भने सम्राट स्पोटिङ क्लब विराटनगरले ललितपुरको चर्च व्याइज क्लबलाई पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो।

विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेताले ५ लाख नगद रुपैयाँसहित आकर्षक शिल्ड प्राप्त गर्ने बताए।

यस पटकको प्रतियोगितामा भारतको एक र नेपालका सात गरी कुल आठ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताको पहिलो चरणबाट मछिन्द्र फुटबल क्लब, नेपाल आर्मी, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र भारत बिहारको अल झारखण्ड विर्शामुण्डा फुटबल एकेडेमी बाहिरिएका थिए।

प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाका सभामुख डिपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने अध्यक्ष शाहीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad