राजनीति


संसदीय समिति गठन प्रक्रिया र कार्यक्षेत्रको टुंगो लाग्यो

संसदीय समिति गठन प्रक्रिया र कार्यक्षेत्रको टुंगो लाग्यो

नेपालखबर
बैशाख २, २०८३ बुधबार १७:२५, काठमाडौँ

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाका समिति गठन प्रक्रिया र त्यसको कार्यक्षेत्रका विषयलाई टुंग्याएको छ। 

बुधवार सिंहदरबारमा बसेको बैठकले समितिहरू गठन प्रक्रिया र कार्यक्षेत्र सम्बन्धी विषयलाई टुंगोमा पुर्‍याएको समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए। समितिको बैठकमा नियमावलीको परिच्छेद २१ अन्तर्गत प्रतिनिधि सभाका विभिन्न समितिहरूको गठन विधि, अधिकार क्षेत्र तथा जिम्मेवारीबारे व्यापक छलफल भएको उनले बताए। 

‘आजको बैठकमा परिच्छेद २१ अर्थात प्रतिनिधि सभाका समितिहरू गठन प्रक्रिया र त्यसका कार्यक्षेत्रका विषयमा व्यापक छलफल भयो। यसमा धेरै विषयहरु टुंग्याएर व्यवस्थापिका र कार्यपालिकाबीचको जिम्मेवारी र एकअर्कोलाई जिम्मेवार बनाउने प्रक्रियाका विषयमा गहन छलफल भए,’ उनले भने। 

बैठकमा व्यवस्थापिका र कार्यपालिकाबीचको भुमिकालाई स्पष्ट बनाउने, पारस्परिक उत्तरदायित्व सुदृढ गर्ने तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ। अधिकांश विषयमा सहमति नजिक पुगेको उनले बताए। 

समितिको बैठक बिहीबार बिहान ९ बजे फेरि बस्नेछ। समितिले कार्य प्रारम्भ भएको १५ दिन भित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ। 

प्रतिनिधि सभाको गत चैत्र २३ गते बसेको बैठकले नयाँ नियमावली तर्जुमा गर्नका लागि पराजुली संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो। समितिका सदस्यमा डा. ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निष्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र डा. सुलभ खरेल रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad