प्रवास


नेपाली दूतावास पोर्चुगलले एक वर्षमा उठायो ५० करोड राजस्व

नेपाली दूतावास पोर्चुगलले एक वर्षमा उठायो ५० करोड राजस्व

नेपालखबर
बैशाख २, २०८३ बुधबार १७:३०, लिस्बन (पोर्चुगल)

लिस्बन (पोर्चुगल) पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासले एक वर्षमा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवामा उल्लेख्य प्रगति गरेको छ।

सोमबार पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूसँगको भेटघाट, छलफल तथा अन्तरक्रियामा दूतावासले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै दूतावास स्थापनाको एक वर्षको अवधिमा ३५ हजार बढीको सङ्ख्यामा राहदानीलगायत कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवा प्रवाह गरेको जनाएको हो।

दूतावासले सार्वजनिक गरेको प्रतिवेदनअनुसार राहदानी (इ–पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, शैक्षिक तथा पारिवारिक कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा र यात्रा अनुमतिपत्रलगायत सेवा गरी कुल ३५ हजार ७८९ सेवा प्रवाह गरिएको छ।

जसमा दूतावासले सबैभन्दा बढी प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरेको छ। प्रतिवेदनअनुसार २३ हजार ७८९ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरिएको छ। 

एक वर्षको अवधिमा दूतावासले पाँच हजार ७९६ जना नेपालीलाई राहदानी (इ–पासपोर्ट) सम्बन्धी सेवा प्रदान गरेको छ भने १०९ जनाको यात्रा अनुमतिपत्र जारी गरिएको दूतावासले जनाएको छ। 

यस्तै, पाँच हजार ६५५ वटा शैक्षिक प्रमाणपत्र, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण गरिएको छ। प्रतिवेदनअनुसार ४१४ वटा अधिकृत वारेसनामा र २६ वटा शव फिर्तीसम्बन्धी सेवाप्रवाह गरिएको दूतावासले जनाएको छ। 

दूतावासले एक वर्षको अवधिमा २९ लाख ९० हजार युरो अर्थात् करिब ५० करोड नेपाली रूपैयाँ राजस्व सङ्कलन गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए। 

दूतावासले प्रवाह गरेका सेवाहरूले पोर्चुगलवासी नेपाली समुदायलाई प्रत्यक्ष रूपमा सहजता प्रदान गरेको उल्लेख गर्दै राजदूत पौडेलले राहदानी, कागजात प्रमाणीकरणलगायत नियमित सेवाका साथै समस्या समाधानमा दूतावास निरन्तर सक्रिय रहेको बताए। 

दूतावासले प्रवर्द्धनात्मक कार्यहरू, नेपाली समुदायसँग सम्बन्धित कार्य, आर्थिक कूटनीतिसम्बन्धी पहल, पोर्चुगिज सरकारका विभिन्न निकायसँग सम्बन्ध तथा समन्वय, दुईपक्षीय सम्बन्ध विस्तार तथा दुई देशबीचका उच्चस्तरीय भ्रमणसम्बन्धी गतिविधिलगायत कूटनीतिक कार्य प्राथमिकताका आधारमा गरिरहेको जनाएको छ। 

सो अवसरमा दूतावासले एक वर्षमा गरेका कार्यहरू, दूतावासबाट प्रवाह हुने सेवाहरू, कूटनीतिक गतिविधिहरू तथा आगामी कार्ययोजनालगायत विषयमा जानकारी गराएको थियो। कार्यक्रममा राजदूत पौडेलसहित दूतावासका अन्य कर्मचारी तथा पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारहरूको सहभागिता रहेको थियो।

गत २०२५ मार्च ३१ मा लिस्बनमा दूतावास स्थापना भएको थियो भने २०२५ अप्रिल १६ बाट दूतावासले सेवा दिन सुरु गरेको थियो। पोर्चुगलमा नेपालीको यकीन तथ्याङ्क नभए पनि ६० हजारभन्दा बढीको सङ्ख्यामा नेपालीहरू रहेको दूतावासको अनुमान छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad