राजनीति


सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’प्रति गोकुल बास्कोटाको कटाक्ष: ‘डेन्टिङ पेन्टिङ नयाँवाद’

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’प्रति गोकुल बास्कोटाको कटाक्ष: ‘डेन्टिङ पेन्टिङ नयाँवाद’

नेपालखबर
बैशाख २, २०८३ बुधबार १५:८, काठमाडौँ

प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका ६ वटै राजनीतिक दलका चुनावी घोषणापत्रका आधारमा सरकारले तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदाबारे अहिले विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ। 

यसै क्रममा नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’लाई ‘डेन्टिङ पेन्टिङ नयाँवाद’को संज्ञा दिएका छन्। 

‘बालेन प्रतिबद्धता पढियो। विशद विश्लेषण, संश्लेषण विद्वत वर्गले अनेक कोणबाट गर्लान् नै’, एमालेका केन्द्रीय सदस्य बास्कोटाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन परेको कलात्मक कुरोचैँ ६ दलकै घोषणापत्र समेट्ने र जसअपजस एकै डालोमा हालिदिने। समाजवादी, पुँजीवादी, नवउदारवादी हिसाबकितााब नै खत्तम। रिसानी माफ होस्- डेन्टिङ पेन्टिङ नयाँवाद जिन्दावाद।’

यस्तै एमालेकै अर्का नेता प्रदीप ज्ञवालीले सरकारले देशको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ भनेकामा आपत्ति जनाएका छन्। 

अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुने उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले ‘बफर स्टेट’ शब्दप्रति असहमति जनाएका हुन्। 

‘भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग समदुरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ’, ज्ञवालीले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ। नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन्। हाम्रा छिमेकीहरूबिच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासंगिक देखियोस्।’

उनले अगाडि लेखेका छन्, ‘यही कुरा ‘समनिकटता’ र ‘समदुरी’का हकमा पनि लागु हुन्छ। राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो। मुद्दा, साझेदारी र सन्दर्भअनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन्। त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैँभरि उही मापन र आयतन नरहन पनि सक्छ। सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad