राजनीति


पूर्णबहादुर खड्काले स्पष्टीकरण नदिने, भन्छन्- त्यस्ताको पछाडि लागेर हुन्छ!

पूर्णबहादुर खड्काले स्पष्टीकरण नदिने, भन्छन्- त्यस्ताको पछाडि लागेर हुन्छ!

नेपालखबर
बैशाख २, २०८३ बुधबार १४:३२, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन्।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। त्यसबारे नेपालखबरसँगको संक्षिप्त कुराकानीमा खड्काले भने, ‘यस्ता कुरा नगरौँ। त्यतातिर नजाऔँ। यस्ताको पछाडि लागेर हुन्छ?’

कांग्रेस सभापति गगन थापाले क्रियाशील सदस्यता खारेज भएको घोषणा गर्दै सबैलाई वडा–वडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएपछि खड्का विपक्षमा उभिएका थिए। गत चैत ३० मा उनले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले कारबाहीको प्रक्रिया अघि बढाएको हो। 

यसअघि चैत १४ मा पनि खड्काले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको पक्राउको विरोधमा कार्यवाहक सभापतिकै रुपमा विज्ञप्ति जारी गरेका थिए। 

यसअघि केन्द्रीय अनुशासन समितिले चैत १८ गते कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनाधिकृत वक्तव्य जारी गरेको भन्दै यस्तो कार्य नगर्न सचेत गराउने निर्णय गरेको थियो। गत चैत ३० मा खड्काले पुनः कार्यवाहक सभापतिकै रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले सात दिने प्रष्टीकरण सोधेको छ। 

जवाफ नआए आवश्यक कारबाही अगाडि बढ्ने अनुशासन समितिका संयोजक तारामान गुरुङले बताए। गत पुस मसान्तमा सम्पन्न विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको कार्यसमितिलाई कांग्रेसको तत्कालीन संस्थापन पक्षले स्वीकार गरेको छैन। तत्कालीन संस्थापन पक्ष महामन्त्री थापा र विश्वप्रकाश शर्माको अगुवामा भएको विशेष महाधिवेशनको विपक्षमा थियो। 

निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त रिटको पेशी भोलिलाई तोकिएको छ। 

खड्काले आफूहरू अदालतको निर्णय कुरिरहेको बताए। विशेष महाधिवेशन अस्वीकार गरेको पक्षलाई सोधिने प्रष्टीकरण स्वीकार्य नहुने कुरा भनिराख्नु नपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad