ad ad

राजनीति


न्युजिल्यान्डकी प्रधानमन्त्री रेष्टुराँमा जाँदा दूरी राखेर बस्ने ठाउँ छैन भनी फर्काइएपछि...

न्युजिल्यान्डकी प्रधानमन्त्री रेष्टुराँमा जाँदा दूरी राखेर बस्ने ठाउँ छैन भनी फर्काइएपछि...

नेपालखबर
जेठ ३, २०७७ शनिबार १६:५५,

मुलुकको प्रधानमन्त्री पूर्वतयारी र सूचनाबिना शहरको एउटा कुनै सामान्य रेस्टुराँमा खाजा खान जानु आफैमा अस्वभाविक हो।

त्यसमाथि मुलुकको सरकारप्रमुखलाई रेष्टुराँका मानिसहरुले खान र बस्न नदिई फिर्ता गर्नु अर्को आश्चर्यजनक कुरा हुन्छ। 

न्युजिल्यान्डमा शनिबार ठ्याक्कै त्यस्तै भयो।

प्रधानमन्त्री जसिन्डा आर्डेर्न शनिबार वेलिंगटनस्थित ओलिभ रेष्टुराँमा खाजा खान गइन्। उनले त्यहाँ खानेकुरा त परको कुरा रेष्टुराँमा प्रवेश पनि पाइनन्।

कर्मचारीले कोरोनाका कारण दूरी कायम गर्नैपर्ने र तत्काल कुनै टेबल खाली नभएको बताएपछि उनी फनक्कै फर्किन्।

रेष्टुराँका मानिसहरुले सामाजिक दूरी कायम गर्ने नियम कुनै हालतमा तोड्न नसकिने बताएपछि प्रधानमन्त्री जसिन्डा आफ्ना पार्टनर क्लार्क गेफोर्डसँगै फर्किहालिन्। सडकमा पुगेर एकछिन् उभिइन्।

‘ओ माई गड आर्डेनलाई ओलिभमा प्रवेश गर्न खोज्दा त्यहाँ ठाउँ नै छैन भनेर फर्काइयो,’ जोय भन्ने मानिसले ट्विट गर्नासाथ त्यो भाइरल भइहाल्यो।

त्यो ट्विटको जवाफ दिँदै गेफोर्डले त्यहाँ केहिबेर अन्यौल हुनुमा आफू जिम्मेवार रहेको बताए।

उनीहरुलाई सुरुमा फर्काइदिएका रेष्टुराँका म्यानेजरले केहि मिनेटमा त्यहाँ एउटा टेबल खालि भएपछि तल सडकमा पुगेर बोलाएर ल्याएका थिए।

‘यसका लागि मैले जिम्मेवारी लिनुपर्छ, मैले कतै कुनै व्यवस्था पनि गरिन, कतै खाना बुक पनि गरिन,’ गेफोर्डले लेखेका छन्, ‘उनीहरुले केहि समय हामीलाई त्यहाँबाट धपाए तर त्यसो गर्नु अत्यन्त राम्रो कुरा हो।’ त्यहाँको सेवालाई उनले ए प्लस भनेका छन्।

आफ्नो नाम उल्लेख नगरी सो रेष्टुराँका मालिकले न्युजिल्याण्ड हेराल्डसँग त्यो घट्नालगत्तै ‘आर्डेन र उनका पार्टनर रेष्टुराँ आउँदा उनीहरुका लागि कुनै विशेष व्यवस्था’ नगरिएको बताए।

न्युजिल्याण्डमा कोरोना संक्रमण सबैभन्दा राम्रोसँग रोक्न सकेको भनेर प्रधानमन्त्री आर्डेर्नको संसारभर हाइहाइ छ।

त्यहाँकाे परिस्थिति नियन्त्रणमा आएकाे विश्लेषणसँगै लकडाउन केहि खुकुलो पारेपछि विस्तारै रेष्टुराँ र अन्य व्यवसाय खुल्न थालेका हुन्।

उनले गत चैतमा लकडाउनको नियम उल्लंघन गरेकोमा आफ्ना स्वास्थ्यमन्त्रीलाई घटुवा गरेकी थिइन्।

– दि गार्डियन

याे पनि: 
लकडाउन नियम तोडेकोमा न्युजिल्यान्डका स्वास्थ्य मन्त्रीको घटुवा, आफैँ भन्छन्ः म त पटमूर्ख भएछु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .