राजनीति


खड्कासँग आक्रोशित गगनले भने- सीमाभन्दा बाहिर गए सहन सकिन्न

खड्कासँग आक्रोशित गगनले भने- सीमाभन्दा बाहिर गए सहन सकिन्न

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १५:३९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी अनुशासनको सीमाभन्दा बाहिर हुने अनधिकृत गतिविधि सहन नसक्ने बताएका छन्। 

मंगलबार नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको समानान्तर गतिविधि सहन नसकिने संकेत गरेका हुन्। खड्काले कार्यवहाक सभापतिको हैसियतमा निरन्तर विज्ञप्ति जारी गरेपछि सभापति थापा आक्रोशित सुनिएका छन्।

खड्काको गतविधिको जवाफ दिँदै थापाले पार्टीलाई मिलाएर लैजान सबै पक्षसँग विनम्र र लचिलो हुने भन्दै सीमाभन्दा बाहिर गए सहन नसक्ने बताए। ‘पार्टीमा सबैको सहयोग चाहिएको छ। कृपया सक्नेले मलाई सहयोग गर्नुहोला। नसक्नेले मलाई डिस्टर्ब नगरिदिनुहोला,’ थापाले भने, ‘पार्टीको कार्यालयभन्दा बाहिर हुने अनधिकृत गतिविधिहरूको सीमा हुन्छ, सीमाभन्दा बाहिर गए सहनसक्ने कुरा हुन्न।’

सबैलाई लिएर लैजाने आफ्नो कुरा रहेको भन्दै अब धेरै खिचपिच नगर्न सबैलाई उनले अनुरोध गरे। ‘पार्टीका तमाम नेताहरूलाई मेरो आग्रह छ। भर्खरै नयाँ वर्षको सुरूवात हुँदै छ। सबैलाई लिएर लैजाने मेरो कुरा हो। अब धेरै खिचपिच नगर्न सबैलाई अनुरोध गर्छु,’ उनले भने, ‘मैले दौडाएर पार्टीलाई अगाडि लैजानु पर्नेछ। अधिवेशन सम्पन्न गराउनु पर्नेछ। नयाँ निर्वाचनका लागि देशलाई तयार पार्नु पर्नेछ। प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्नसक्ने पार्टी बनाउनु पर्नेछ।’

आफ्नो विनम्रता र लचकतालाई कमजोरी नठान्न पनि थापाले चेतावनी दिएका छन्। ‘म पार्टीको जिम्मेवारीमा छु, जिम्मेवारीमा भएको व्यक्ति बढी विनम्र हुनुपर्छ, बढी लचिलो हुनुपर्छ। उसैले संवाद गर्नुपर्छ। यो कुरा मैले पार्टीका नेताहरूबाट सिकेको छु,’ उनले भने, ‘त्यसैले म सकेसम्म साथीहरूलाई भेट्छु, सिकेका कुरा बुझाउने कोसिस गर्छु। सबैलाई समेटेर जान्छु। तर समेटेर लैजाँदै गर्दा मैले राख्ने लचकता र विनम्रतालाई कृपा गरेर मेरो कमजोरी नठानिदिनुहोला। म पनि पार्टीको विधानले बाँधिएको छु।’

यस्तै थापाले कांग्रेसले प्रतिपक्षीको भूमिका रचनात्मक ढंगले निर्वाह गर्ने बताए। सरकारबाट विधिसम्मत ढंगमा हुने काममा कांग्रेसको साथ र सहयोग रहने उनले बताए। 

सरकारले गर्ने सुशासनका काममा पनि कांग्रेसको साथ र सहयोग रहने उनको भनाइ छ। कांग्रेसले प्रदेश र स्थानीय तह सरकारलाई पनि मिलाएर लैजान भूमिका खेल्ने थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad