कानुन व्यवसायीले पहिले जस्तै सहज रुपमा सिंहदरबार प्रवेश गर्न पाउने भएका छन्।
बिहीबार सुरक्षा निकायले पहिले जस्तै सिंहदरबार प्रवेश गर्ने व्यवस्था गरिएको जानकारी दिएको नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले बताए। ‘पहिले जस्तै सहज रुपमा सिंहदरबार प्रवेश गर्न पाइने व्यवस्था भएको सुरक्षा निकायले जानकारी दिएका छन्,’ मिश्रले भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको थियो। कानुन व्यवसायीलाई पनि अनुमति लिएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो।
त्यसको कानुन व्यवसायीले विरोध गरेका थिए। उनीहरूले सिंहदरबारभित्र रहेको प्रशासनिक अदालतमा दैनिक आउजाउ गर्नुपर्ने भएकाले पहिलेकै व्यवस्था अनुसार प्रवेश गर्न पाउनुपर्ने माग गरेका थिए। पहिले कानुन व्यवसायीलाई परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्न पाउने व्यवस्था थियो।
कानुन व्यवसायीले विरोधपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहिले जसरी नै सिंहदरबार प्रवेश गर्न व्यवस्था गरिएको हो।
Shares

प्रतिक्रिया