प्रतिनिधि सभाको उपसभामुख चयनको सरगर्मी बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले दलीय सहमतिको सम्भावनाबारे मुख खोलेका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सिंहले उपसभामुख चयनका लागि अझै समय बाँकी रहेको र विगतका कतिपय अभ्यासहरूलाई पनि पछ्याउन सकिने संकेत गरे।
'हामी सबै दलहरूसँग कुराकानी गर्दैछौँ, यसका लागि अझै १५ दिनको समय छ,' उपसभामुखको उम्मेदवारीबारे सोधिएको प्रश्नमा सिंहले भने, 'विगतमा पनि संख्या पुग्ने अवस्थामा निर्विरोध चयन गर्ने अभ्यास पनि छ। संख्या पुग्ने भए पछि अरूले किन (उम्मेदवारी) दिने भन्ने कुरा पनि उठ्न सक्छ।'
संसद् सचिवालयले उम्मेदवारीका लागि तोकेको समयसीमा र आइतबार खुल्ने संसद्को बैठकपछि यसबारे थप प्रष्ट हुने उनको भनाइ छ।
मन्त्री नबनेकोमा गुनासो छ?
सांसद सिंहले सरकार र राजनीतिक दलहरू जनताको चाहनाअनुसार सुशासनको बाटोमा हिँड्नुपर्नेमा जोड दिए। उनले राज्यका विभिन्न निकायमा सक्रिय बिचौलियाहरूका कारण जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनीहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्ने बताए।
अमरेश कुमार सिंहलाई मन्त्रीको रूपमा उनलाई क्याबिनेटमा नदेखिएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले कूटनीतिक जवाफ दिए। 'कार्यकारी भूमिकामा रहँदा पक्कै पनि अझै धेरै नतिजा दिन सकिन्थ्यो,' उनले भने, 'तर अहिले हामी पार्टी र सरकारको एउटै लयमा उभिएका छौँ। बाहिर रहेर पनि जनताको पक्षमा काम गर्न सकिन्छ।'
प्रतिनिधिसभा सभामुखमा उम्मेदवारी नदिने घोषणा गरेको नेपाली कांग्रेसले उपसभामुख आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।
यो पनि: पहिला सभामुखको टुङ्गो लागोस्, अनि मात्र उपसभामुखबारे छलफल: रवि लामिछाने
Shares

प्रतिक्रिया