राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनको विषयमा पार्टीले अहिले नै कुनै छलफल सुरु नगरेको बताएका छन्।
शुत्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले पहिला सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखबारे छलफल अगाडि बढ्ने बताए। उपसभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासलाई मध्यनजर गरिने उनको भनाइ छ।
‘हामी अहिले उपसभामुखको छलफलमा प्रवेश गरेका छैनौँ। पहिला सभामुखको काम सकौँ, त्यस पछाडि मात्र उपसभामुखबारे छलफल गरौँला,’ लामिछानेले भने, ‘संवैधानिक व्यवस्था र व्यावहारिक परिस्थिति दुवैलाई हेरेर हामी अगाडि बढ्छौँ।’
संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरू र संसदीय अभ्यासलाई सन्तुलित रूपमा लैजानुपर्नेमा जोड दिँदै उनले कतिपय अवस्थामा उम्मेदवारी नहुने परिस्थिति पनि आउन सक्ने संकेत गरे। अन्य दलसँगको समन्वय र संसदीय प्रक्रियाको चरणबद्ध विकासले नै आगामी बाटो तय गर्ने उनको भनाइ थियो।
लामिछानेले सभामुखको भुमिका निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए। सभामुख पदमा निर्वाचित भइसकेपछि व्यक्ति कुनै विशेष राजनीतिक दलको नभई सिङ्गो सदन र सबै सांसदको साझा अभिभावक हुनुपर्ने उनले बताए।
‘जुन स्पिरिटमा मैले संसदमा आफ्नो मन्तव्य राखेको थिएँ, पार्टी त्यही स्पिरिटमा अडिग छ। सभामुख भइसकेपछि उहाँ पार्टीको रहनुहुन्न। पार्टीमा रहँदाका अनुभव र असहजतालाई उहाँले व्यवहारमा उतार्दा लोकतान्त्रिक मूल्य मान्यतालाई ध्यान दिनुपर्छ,’ उनले भने।
Shares

प्रतिक्रिया