कांग्रेसले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवार नदिने भएको छ। महामन्त्री प्रदीप पौडेलले सभामुख पदमा कांग्रेसबाट उम्मेदवारी नरहने बताए।
‘हामीले सभामुखमा उम्मेदवारी दिँदैनौँ, हामीसँग प्रस्तावक र समर्थक नभएर भने होइन,’ महामन्त्री पौडेलले नेपालखबरसँग भने, ‘सभामुख पद तटस्थ हो, भूमिका पनि निष्पक्ष रहनुपर्छ। सभामुखलाई मेरो पार्टीको मात्र समर्थन पाएको थिएँ भन्ने किन पार्ने? सभामुख भएपछि पार्टीका सबै पद त्याग्नुपर्छ।’
प्रक्रिया र अंकगणितले को विजयी हुन्छ भन्दा पनि सभामुखको तटस्थता कायम हुने विश्वासमा कांग्रेसले उम्मेदवारी नदिएको पौडेलको भनाइ छ। ‘हामीले उम्मेदवार नदिने भएपछि जित्ने उम्मेदवारलाई समर्थन गरेकै देखियो नि। सबै कुरामा पक्षधरता देखाइराख्न जरुरी छैन। सभामुख पद तटस्थ पद हो,’ पौडेलले भने, ‘कार्यकारीका कमजोरी केलाउने वातावरण पनि संसदमा बन्न दिन्छ।’
सभामुखको निर्वाचनमा प्रतिपक्षी दल संगठित हुनुपर्ने भन्ने मनोविज्ञानले जाने कुरा उपयुक्त नहुने पौडलको भनाइ छ। संसदको तेस्रो दल नेकपा (एमाले) ले सभामुखमा गुरु बराललाई उम्मेदवार बनाए पनि जित्ने स्थिति नभएको भन्दै रास्वपाका उम्मेदवार अर्यालललाई समर्थन हुने पौडलेले बताए।
सभामुख निर्वाचनका लागि आज ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ।
उपसभामुखमा भने कांग्रेसको दाबी रहेको उनको भनाइ छ। उनले भने, ‘विपक्षी एक ठाउँमा आउँदा पनि जित्न सक्ने अवस्था छैन। संवैधानिक आशय बमोजिम प्रमुख प्रतिपक्षीलाई उपसभामुख पाउने कुरा स्वाभाविक हो। जनताको म्यान्डेट अनुसार स्वभाविक के हो त्यो गर्दै जाऔँ भन्ने हो।’
सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले उम्मेदवारी दर्ता गरिसकेका छन्। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।
Shares

प्रतिक्रिया