नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गतेको घटना सम्बन्धमा ८ वटा प्रश्न उठाएका छन्।
बिहीबार संसद बैठकमा सम्बोधन गर्नेक्रममा एमाले कार्यवाहक अध्यक्ष समेत रहेका बादलले भदौ २४ को घटना राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा भएको आरोप पनि लगाएका छन्।
उनले रास्वपाले तिलस्मी विजय हासिल गर्नुमा राष्ट्रिय/अन्तर्राष्ट्रिय दृश्य अदृश्य शक्तिको हात रहेको पनि उल्लेख गरेका छन्।
नेपाली सेना र कर्मचारीले समेत रास्वपालाई चुनावमा सघाएको उनको अभिव्यक्ति विवादमा समेत परेको छ। एमालेकै कतिपय नेताहरूले उनको अभिव्यक्तिको आलोचना गर्दै भोलि बस्ने पार्टी सचिवालय बैठकमा त्यसको जवाफ माग्ने बताएका छन्।
के भनेका थिए बादलले?
सम्मानीय सभामुख महोदय ,
सर्वप्रथम म, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र,संघीयता,शान्ति र समृद्धिका लागि आफ्नो अमूल्य जीवन को आहुति दिने,भाद्र २३/२४ लगायत,सम्पूर्ण ज्ञात/अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
सम्मानीय सभामुख महोदय,
फागुन २१ गते आम निर्वाचन मार्फत निलोक्रान्तिलाई वैधानिकता प्रदान गरियो।
चैत्र १३ गते भव्य धार्मिक अनुष्ठान सहित श्री बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहलाई म नेकपा (एमाले को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।
सम्मानीय सभामुख महोदय,
यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क-कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना,ब्युरोक्रेसी,सुशीला सरकार,कार्की आयोग,बारबरा फाउन्डेसन(NGO) आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो।
त्यसैले, ती संस्था तथा पात्रहरूलाई म हरूलाई पनि म नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।
सम्मानीय सभामुख महोदय,
यो विजयका लागि बाह्य दृष्टिले ककसले निर्णायक भूमिका निर्वाह गरे?
असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने, अदृश्य शक्तिहरू( Deep state) TOB, AI/Algorithm,गोयवल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संघीयता,धर्म निरपेक्षता, शान्ती र समृद्धिका नायकहरुलाई रबूखार ‘खलनायक’ र ‘हत्यारा’ को रुपमा स्थापित गरे, जसले सिंहदार जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई ‘महानायक’ बनाए ती संस्था तथा पात्रहरूले नै बाह्यरूपमा यो जादुमय विजयमा निर्णायक भूमिका निर्वाह गरे।
त्यसैले,यस ऐतिहासिक क्षणमा म ती सबैलाई पनि नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।
सम्मानीय सभामुख महोदय,
यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरु जन्माएको छ।
१. कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवास, प्रहरी चौकी,व्यावसायिक प्रतिष्ठान आदि सुनियोजित ढंगबाट जलाइयो?
२. कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेदिक क्षेत्र तोड्न उक्साइयो?
३. कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध TOB हरु २३\२४ गते तिलस्मीरुपमा प्रकट भए?
४. कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनीयिढंगबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो?
५.कुन उद्देश्य पुर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ ?
६.कुन उद्देश्य पूर्तिका लागि देशव्यापी दमनचक्र र राज्य आतंक मचाउँदै छ?
७. कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको सङ्गठित हुने ‘मौलिक अधिकार’ बलात खोसिँदै छ?
८.कुन उद्देश्यका लागि MEDIA-TRIAL CYBER आतंक सिर्जना गरिँदैछ?
सम्मानीय सभामुख महोदय
निश्चय पनि भविष्यले यसको सही जवाफ दिँदै जानेछ। तर यी प्रश्नहरु र यस्तै-यस्तै प्रश्नहरु हामी सम्पूर्ण ताकत सहित राज्यलाई सोध्ने छौं,निरन्तर यो गरिमामय सदनमा हाम्रो आवाज घन्काउने छौं।
सम्मानीय सभामुख महोदय,
यो ऐतिहासिक क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने ‘जनादेश’ बोकेर आउनु भएका नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र माननीय ज्यूहरूलाई पनि धेरै धेरै बधाई/शुभकामना भन्न चाहन्छु।
सम्मानीय सभामुख महोदय !
अन्त्यमा,
यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ। यसले आफ्नो कमजोरीहरुलाई सचाउने ‘अवसर’ दिएको छ। यो पराजय फगत अस्थायी हो।पराजित सेनाले छिटै सिक्दछं। उसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ।
धन्यवाद
Shares

प्रतिक्रिया