नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले सेनाप्रति कुनै वैरभाव नभएको बताएका छन्।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सेनाबारे बालेका थिए। जेनजी आन्दोलनमा सेनाले सघाएको बादलको भनाइ थियो।
संसद्मा जेनजी आन्दोलन र त्यसपछि भएको चुनावमा रास्वपालाई आएको बहुमतबारे बोल्दै बादलले भनेका थिए, ‘यो अभुतपूर्व विजयमा आन्तरिक रुपमा ककसको निर्णायक भूमिका रह्यो, तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बार्बरा फाउन्डेसन एनजीओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ति संस्था र पात्रहरूलाई पनि म एमालेको तर्फबाट धेरैधेरै बधाई भन्न चाहन्छु।’
त्यसमा असहमति जनाउँदै एमाले सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत सेनाप्रति वैरभाव नभएको बताएका हुन्। ‘जनताको बहुदलीय जनवाद नेकपा (एमाले) को सिद्धान्त हो। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा बैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो,’ भट्टराईले भनेका छन्।
नेता भट्टराईले जनमतको सम्मान गर्नुपर्ने बताएका छन्। ‘जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो,’ उनले लेखेका छन्।
एमाले राज्य पक्षीय दल भएको भट्टराईले जिकिर गरेका छन्। उनले भनेका छन्, ‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा (एमाले) आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो।’
उनले राज्यका सबै अंगप्रति एमालेको सम्मान र विश्वास रहेको उल्लेख गरेका छन्। ‘नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन, त्यसप्रति हाम्रो पार्टीको सम्मान र बिश्वास रहिरहनेछ,’ भट्टराईले भनेका छन्, ‘संसद् वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहनेछ।’
Shares

प्रतिक्रिया