राजनीति


आलोचनात्मक प्रतिपक्षका रुपमा भूमिका खेल्नेछौँ: वर्षमान

आलोचनात्मक प्रतिपक्षका रुपमा भूमिका खेल्नेछौँ: वर्षमान

नेपालखबर
चैत १९, २०८२ बिहिबार १६:२८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन ‘अनन्त’ले आफ्नो दलको उचारचढावबाट शिक्षा लिएर अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सचेत गराएका छन्। 

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपाका तर्फबाट धारणा राख्दै पुनले आफूहरूले दुई पटकसम्म दुई तिहाइ जनमतको सदुपयोग गर्न नसकेको भन्दै त्यसलाई शिक्षाका रुपमा ग्रहण गरेर अघि बढ्न सुझाए। २०६४ सालमा तत्कालीन नेकपा (माओवादी) र २०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर ल्याएको दुई तिहाइको उनले स्मरण गरेका हुन्। 

‘सत्तारुढ दलको सभापतिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह र यहाँहरू सबैलाई आफ्नो के अनुभव राख्न चाहन्छु भने २०६४ सालतिर तत्कालीन नेकपा (माओवादी) ले झण्डै-झण्डै यस्तै विजय हासिल गरेको थियो। २०७४ सालतिर हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्‍यौँ। पछि पार्टी एकता गर्‍यौँ। झण्डै-झण्डै दुई तिहाइको बहुमत थियो’, पुनले भने, ‘त्यसलाई हामीले सदुपयोग गर्न जानेनौँ/सकेनौँ, हाम्रा

सीमाहरू व्यक्त भए। हाम्रा कमीहरूबाट शिक्षा लिएर यहाँहरूले पार्टीलाई र देशलाई लैजाने कुरा गर्नुस्। हाम्रा आफ्नै अनुभव छ। त्यसमा हामी तपाईंहरूलाई सहयोग गर्न तयार छौँ।’

चुनावमा जित्नेले अहंकार र हार्नेले लघूताभाष गर्न जरुरी नरहेको चर्चा गर्दै पुनले आफ्ना विचार र सिद्धान्तहरूका आधारमा देश र जनतालाई केन्द्रमा राखेर सहकार्य गर्न सत्ता र प्रतिपक्षबीच सहकार्य जरुरी रहेको पुनले औँल्याए। उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिबाट कोही पनि पछि फर्कन नसक्ने स्पष्ट गरे। 

‘चुनावबाट जनमत आएको छ र हामीले स्वीकार गरेका छौँ। नेपाली कम्युनिस्ट पार्टी लोकतान्त्रिक विचार, व्यवहार र आचरणमा विश्वास गर्छ। हामी रचनात्मक रुपले सरकारलाई सहयोग गर्न तयार छौँ। त्यसै गरी आलोचनात्मक प्रतिपक्षका रुपमा हामीले भूमिका खेल्ने छौँ। यो सबै उपलब्धिको जगमा १०औँ हजारको बलिदान छ। जनयुद्धको बलिदान, जनआन्दोलनको बलिदान, मधेस आन्दोलनको योगदान र पछिल्लो जेननी नवयुवाहरूको आन्दोलनको योगदान छ’, पुनले भने। 

लोकतन्त्र, गणतन्त्र र समावेशीतामा सम्झौता भए खबरदारी गर्ने भन्दै पुनले त्यसलाई अझै परिमार्जन गर्ने तथा लोकतन्त्रको सर्भिसिङ, राष्ट्रिय स्वाधिनता, सामाजिक न्याय र रुपान्तरणका लागि भएका राम्रा अभ्यासलाई निरन्तरता दिने विषयमा आफूहरूको सरकारलाई साथ र समर्थन रहने प्रतिबद्धता जनाए। 

देशभित्रै रोजगारी सिर्जना, अर्थतन्त्रको सुदृढीकरण, युवाहरूलाई रोजगारी सिर्जना गर्ने कुरामा सरकारलाई सहयोग रहने पुनले बताए। यस्तै उनले विश्व भू-राजनीति संवेदनलशील अवस्थामा रहेको र त्यसको प्रभावबाट नेपाल पनि अछुतो नरहेको भन्दै परिपक्व ढंगले कूटनीतिक सम्बन्ध सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले परिर्वनका लागि भएका आन्दोलनका दायित्व सरकारले लिने विश्वास व्यक्त गरे। 

पुनले वर्तमान सरकारसँग विगतका दायित्वहरू पनि रहेको भन्दै शान्ति सम्झौता र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्झाए। ‘हिजोका जिम्मेवारी मात्र होइन, हिजोका दायित्वहरू पनि छन्। विभिन्न कारणले पुरा नभएका शान्ति सम्झौता, संक्रमणकालीन न्यायका विषय पनि छन्। त्यसमा पनि सरकारले स्वामित्व लिनेछ। किनभने कुनै पार्टी विशेषको होइन, परिवर्तनका लागि भएका आन्दोलनका दायित्वहरु छन्। त्यसमा हामी सहकार्य गर्न तयार छौँ। यहाँहरूलाई हाम्रो सहयोग रहनेछ’, पुनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad