राजनीति


कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

नेपालखबर
चैत १९, २०८२ बिहिबार १५:३५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। प्रतिनिधि सभाको पहिलो बैठकमा उनले भने, ‘नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोर्खापत्रमा पढ्ने म आग्रह गर्न चाहन्छु।’

आङ्देम्बले भदौ २३ र २४ को प्रश्न उठाए। ‘आज हामी जहाँ यो बैठक बसिरहेका छौँ, यो हाम्रो संसद भवन होइन। हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो। यो बेला त्यो खरानीलाई सम्झौँ, अनि संकल्प गरौँ, हामी यसरी काम गरौँ ताकी भविष्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसरुन्,’ उनले भने। 

कांग्रेस सांसद आङदेम्बेले २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी रहेको बताए। ‘किन खरानी भयो संसद भवन? किन जल्यो सिंहदरबार? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना?,’ उनको प्रश्न छ, ‘म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ।’

गत भदौ २३ गतेको घटना देख्ने २४ को नदेख्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ। ‘कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने। कसैले २४ को ध्वंश देख्ने, २३ को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कारबाहीको सिफारिस गर्‍यो,’ उनले भने, ‘तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो। यो कस्तो तरीका हो? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवश भएको होईन भनेर भन्न मिल्ने देखिन्न।’

सरकारले सुझबुझपूर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गर्न उनको आग्रह छ। ‘कांग्रेस दोषी कोहि उम्किनुहुन्न, निर्दोष कोहि फँस्नुहुन्न भन्ने मान्यता बिगतदेखिनै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं,’ आङ्देम्बेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad