नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य खम्मबहादुर खातीले मुलुकमा संविधान संशोधनको आवश्यकता र औचित्यता रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खातीले संविधान संशोधनका लागि गठबन्धन सरकारले यसअघि पनि पहल गरेको स्मरण गराएका हुन्।
उनले वर्तमान संवैधानिक व्यवस्था खर्चिलो भएको र यसमा परिमार्जन आवश्यक रहेको औँल्याए।
खातीले न्यायपालिकाको सुधारका विषयमा पनि जोड दिए। संशोधन प्रक्रियाका बारेमा स्पष्ट पार्दै उनले कुनै छुट्टै आयोग वा कमिटी गठन गरेर मात्र यो सम्भव नहुने बताए।
उनकाअनुसार संविधान संशोधनको प्रक्रिया सार्वभौम संसदबाटै अघि बढ्नुपर्नेछ।
उनले भने, ‘सल्लाहकारको अध्यक्षतामा हुने नोटेड गर्ने प्रक्रिया हुनसक्ला, अन्य राजनीतिक दलहरू त्यसमा सहभागी हुने वा नहुने र कस्ता खालका विज्ञहरू त्यसमा रहने भन्ने कुरा हुन्छ। संविधानले छुट्टै संविधान संशोधनका लागि कुनै कमिटी वा आयोग गठन गर्न सक्दैन। सार्वभौम सत्ता जनतामा निहीत प्रतिनिधि सभाका सांसदहरु र अप्पर हाउससँग जोडिने र सातै प्रदेशको फ्लोरमा लैजानुपर्छ र त्यहाँबाट आएको सुझावका आधारमा संशोधन गर्नुपर्छ।’
उनले सल्लाहकारको अध्यक्षतामा हुने नोटेड गर्ने प्रक्रिया हुनसक्ने र त्यसमा अन्य राजनीतिक दलहरुको सहभागिता तथा विज्ञहरूको भूमिकाका बारेमा पनि छलफल हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया