ad ad

राजनीति


साझा पार्टी भन्छः भारतसँग सीमामा तारबार गरौं

साझा पार्टी भन्छः भारतसँग सीमामा तारबार गरौं

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ७:३८,

साझा पार्टीले भारतसँग सीमामा तारबारसहित बन्द गर्न सरकारसँग माग गरेको छ।

‘साझा पार्टी सीमा क्षेत्रका स्थानीय वासिन्दालाई समस्या नपर्नेगरी नेपाल–भारत सीमामा निश्चित नाकामात्र अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र सीमानाका अन्य भागहरू तारबारसहित बन्द गर्न नेपाल सरकारसँग माग गर्दछ,’ शुक्रबार सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसको लागि राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा भएको निश्कर्षमा साझा पार्टी पुगेको छ।’

साथै द्विपक्षीय वार्तामा ढिलाई हुने अवस्था भएमा सीमा विवाद नभएका ठाउँमा नेपालले एकतर्फीरूपमै तारबार लगाउन पहल गर्न समेत सो पार्टीले सरकारसँग आग्रह गरेको छ।

पछिल्लो समयमा भने दुवै मुलकका विकासका आकांक्षा, राष्ट्रिय सुरक्षाका चुनौति, अर्थतन्त्रको व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन लगायतका पक्षलाई ध्यानमा राख्दा खुला सीमा र अव्यवस्थित आवागमन दुबै मुलुकको हितमा नभएको साझा पार्टीको ठहर छ।

‘खुला सिमानाको अवधारणाले गर्दा दुई देशबीचको सीमा निर्धारणका प्राविधिक कार्य समेत प्राथमिकतामा परेका छैनन्,’ सो पार्टीले भनेको छ, ‘सयौँ सीमा स्तम्भहरू हराएका छन्। दर्जनौँ सीमा स्तम्भहरू रातारात नेपाली भूभागतर्फ सारिएका छन्।’

कैयौँ ठाउँमा नेपालको लालपूर्जा हुँदाहुँदै नेपालीहरूले भूमीमाथिको स्वामित्व गुमाएका र ती भूमीमा भारतीयहरू खेती–किसानी गरिरहेको सो पार्टीले जनाएको छ।

‘कयौँ ठाउँमा अन्तर्राष्ट्रिय कानून विपरीत सिमानामा बाँध तथा सडकहरू निर्माण गरिएका छन् जसले गर्दा नेपाली भूभाग तथा वस्तीहरू वर्षायाममा जलमग्न हुने गर्दछन्। त्यतिमात्र होइन, सीमाक्षेत्र नजिक बस्ने धेरै नेपालीहरू भारतीय सीमा सुरक्षा बलको ज्यादतीबाट आक्रान्त छन्,’ उसले भनेको छ।

पछिल्लो समयमा भारतले कयौँ ऐतिहासिक दस्तावेज तथा नक्साहरूले प्रमाणित गरेको नेपाल–भारत सीमालाई समेत बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा खुल्लमखुल्ला नेपाली भूभाग अतिक्रमण गरेको सो पार्टीको भनाई छ।

‘भारतले भर्खरै लिपुलेक भएर चीनको मानसरोवर जान खोलेको सडक त्यसैको चरम उत्कर्ष हो भन्ने साझा पार्टीको बुझाई छ,’ विज्ञप्तिमा भनिएको छ।

खुला सिमानाले चोरी, डकैती, तस्करी लगायत राष्ट्रिय सुरक्षाका संवेदनशील पक्षहरूमा अनगिन्ती जटिलताहरू निम्त्याएको पनि सो पार्टीको ठहर छ।

भारतीय पक्षले पनि बारम्बार नेपालको खुला सीमाको दुरूपयोगका कारण उसको राष्ट्रिय सुरक्षामा आँच पुगेको बताउने गरेको साझा पार्टीले स्मरण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .