राजनीति


कांग्रेसको देउवा–कोइराला पक्षको बैठक बस्दै

सर्वोच्चबाट फैसला नआएसम्म यस्ता गतिविधि भइरहन्छन्: जितजंग बस्नेत
कांग्रेसको देउवा–कोइराला पक्षको बैठक बस्दै

नेपालखबर
चैत १७, २०८२ मंगलबार १०:२३, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका नेताहरूको बैठक आज बस्दैछ।

दिउँसो १ बजे धुम्बाराहीको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बस्न लागेको हो। उक्त बैठकअघि कोइरालाले आफू पक्षीय नेताहरूसँग छुट्टै बैठक पनि गरेका छन्। 

धुम्बाराहीमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटना क्रम, सरकारको धरपकड, चुनावी परिणामको समीक्षा र १५ औं महाधिवेशनका विषयमा छलफल हुने राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले नेपालखबरलाई जानकारी दिए।

गतपुस १८ गते बसेको तत्कालीन केन्द्रीय कार्यसमिति बैठकले वैशाख २८ देखि ३१ का लागि नियमिति महाधिवेशनको कार्यतालिका ल्याएको थियो।

पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग भएको घोषणा गरेर गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन गरिएको थियो।

थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा र कोइराला समूह कांग्रेसको राजनीतिमा किनाराकृत भएको छ।

यद्यपि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा राजनीतिक गतिविधि गरिराखेका छन्। १४ औं महाधिवेशनबाट केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला चैत १९ गते बोलाउने देउवा– कोइराला पक्षको तयारी छ। 

‘प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी छ,’ बस्नेतले भने, ‘पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट फैसला नआएसम्म एक ढंगले गतिविधि अगाडि बढाउने भन्ने कुरा भएको छ।’

कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दाकाे पेशी सर्वाेच्चमा यही चैत २२ गतेका लागि तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad